विराटनगर/ विराटनगरस्थित न्यूरो अस्पतालले संचालन गरेको कोभिड अस्पताल थप विस्तार गरिने भएको छ । कोरोना संक्रमितको चाप बढेर अस्पताल आउने विरामी बढेपछि सरकारसँग अनुमति लिएर थप विस्तार गर्ने तयारी गरेको हो ।

प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । पछिल्लो समय दैनिक यहाँ एक सय भन्दा बढी संक्रमित थपिने गरेको छ । संक्रमित बढेपछि विराटनगरको कोभिड अस्पतालहरू भरिभराउ रहेको छ । कतिपय संक्रमितले अस्पतालमा शैय्या नपाएर होम आइसोलनमा मृत्युबरण गरेका छन् ।

गत ११ भदौ देखि न्यूरोले संचालनमा ल्याएको कोभिड अस्पतालमा हालसम्म २ सय २४ जना बिरामी भर्ना गरि उपचार गरिएको छ । जसमध्ये १८१ जना संक्रमित निको भइ डिस्चार्ज भएको छ भने ६५ जनाको सघन उपचार कक्षमा राखि उपचार भएको अस्पतालले जनाएको छ ।

प्रदेश नं १ मा निजी स्तरबाट पहिलो पटक सन्चालनमा ल्याइएको कोभिड अस्पतालले अहिले प्रदेश १ का मात्र नभई प्रदेश २ लगायत अन्य विभिन्न स्थानका लक्षण सहितका कोराना संक्रमित उपचारको लागि आउने गरेका छन् । ४२ वटा जनरल बेड, ७ वटा आइसियु तथा २ वटा भेन्टिलेटरबाट सेवाको शुरुवात गरिएको अस्पताललाई अब थप विस्तार गरिने योजना रहेको अस्पतालका कार्यकारी निर्देशक अनिशा बिष्टले बताइन् । संक्रमितको उपचार मात्र गर्दै आएको अस्पतालले गत ११ असोजदेखि अस्पताल परिसरमै कोराना परीक्षण गर्ने आर.टी. पिसिआर ल्याब पनि संचालनमा ल्याएको छ ।

अस्पतालले कोरोना जाँचको रिपोर्ट ६ घण्टामै दिने व्यवस्था मिलाएपछि कोरोनाको उपचारमा थप सहज भएको छ । ‘अहिले संक्रमितको संख्या बढ्दो छ,’ अस्पतालका निर्देशक विष्टले भनिन्, ‘संक्रमितको उपचारको लागि थप सेवा विस्तारको योजनामा रहेका छौं ।’ अधिकाश संक्रमितहरूको अवस्था गम्भिर भएपछि मात्र अस्पतालमा उपचार लिन आउने हुदाँ उपचारमा आइसियु लगायत अन्य पुर्वाधारको कमि हुन नदिन लगानीको जोखिम हुदाँ हुदै पनि २० बेड आइसियु र २० बेड एचडियू थप्ने योजना रहेको छ ।

कोरोना बिरुद्धको लडाईमा कुनै कसुर बाँकी नराख्ने उनको भनाई छ । अस्पताल आउने संक्रमितहरू ४५ वर्ष भन्दा माथिका जटिल रोगहरु सहित आउने गरेको हुदाँ आइसियु र भेन्टिलेटरको कमी भएको छ । कोरोना बिरुद्धको लडाईमा प्रदेश सरकारसँग सहकार्य गर्दै २४ भदौदेखि कोरोनाको उपचार निःशुल्क गर्दै आएकोमा नेपाल सरकारको निर्णय अनुरुप कार्तिक २ देखि सशुल्क उपचार गर्दे आएको छ ।