भद्रपुर/ झापाका सीमा क्षेत्रबाट सशस्त्र प्रहरी गण नम्बर २ कार्यालय र मातहत रहेका विओपी कार्यालयहरूले १२ लाख रुपैया मूल्य बराबरको बारुदजन्य पटका बरामद गरेको छ ।

एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटकालाई शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राएको पटकाहरू सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको गणपति रमेश कुमार पाण्डेले बताए ।

प्रहरीले सीमा नाकाबाट भित्रिँदै गरेको अवस्थामा सो मूल्य बराबरको पटका बरामद गरेको उनले जनाए । जगमग, खुर्सानी, झिरझिरे, अनार लगायत नाम गरेका पटकाहरू भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतको क्षेत्रबाट बरामद गरेको एसपी पाण्डेको भनाइ छ ।

पटका नेपाल भित्राए बापत कारोबारी र तस्करलाई सय प्रतिशत सम्म नाफा हुने भएकोले अन्य धन्दा छाडेर प्रतिबन्धित पटाका भित्राउने गरेका छन् ।