भण्टाबारी/ मोटो रकम दिने आश्वासन दिएर युवतीलाई बलिका लागि भारत लाने गिरोहमध्येका नौ जना अहिले पनि प्रहरी नियन्त्रणभन्दा बाहिर रहेका छन् । ती गिरोहका नजिकका स्थानीयका अनुसार आरोपीहरू लुकिछिपी गाउँमै बस्दै आएको बताएका छन् ।

प्रहरीले भने सादा पोसाक र स्थानीय प्रहरीको साथ लिएर फरार आरोपितहरूको खोजी कार्यमा जुटिरहेको दाबी गरेको छ । ती नौ जना आरोपीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता भएको छ । भारतको भीमनगरमा पूजा छ भन्दै बलिका लागि युवती लिएर लैजाँदै गरेको अवस्थामा सुनसरी प्रहरीले सीमावर्ती नाका कोशी ब्यारेजबाट चार जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू र पीडित युवतीको बयानबाट ‘योजनामा अन्य पनि संलग्न’ रहेको खुलेको थियो ।

सुनसरी प्रहरीले असोज १४ गते सप्तरीको अग्निसाइबर कृष्णसवरण गाउँपालिका–४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीको शम्भुनाथ नगरपालिका–७ की २२ वर्षीया सुचिनकला चौधरी, सिरहाको लहान नगरपालिका–१९ का ३२ वर्षीय जीवछ साह र सप्तरी अग्निसाइबर कृष्णसवरण गाउँपालिका–५ का ३८ वर्षीय विजय विकलाई पक्राउ गरेको थियो ।

उनीहरूमध्ये तीन जनालाई युवती लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो भने विकलाई केही दिनपछि पक्राउ गरिएको थियो । विक योजनाकारमध्येका एक भएको प्रहरीको दाबी छ । उनीहरू सबै पुर्पक्षका लागि थुनामा गइसकेका छन् । यही घटनासँग जोडिएका अन्य नौ जना भने अझैसम्म फरार छन् । नाम नछाप्ने सर्तमा एक स्थानीयले आरोपितहरू दिनभरि लुक्ने र राति घरमा आउने गरेको बताए ।

‘राति घरमै बस्ने गरेका छन्’ ती स्थानीयले भने, ‘उनीहरूलाई पक्राउ गर्न प्रहरी आएको देखेका छैनौं ।’ आरोपितमध्ये राजविराज नगरपालिका–४ का इकबाल मन्सुरी र सुनिल दास, अग्निसाइबर कृष्णसवरण गाउँपालिका–३ का ब्रह्मदेव चौधरी, अग्निसाइबर कृष्णसवरण–४ का भूपेन्द्र चौधरी, सोही स्थानका अशोक चौधरी, सफृद मन्सुरी, सप्तरीकै खड्ग नगरपालिका–५ का मनोज सरदार, लहान नगरपालिका–२० का रितलाल दास र इन्द्रजित साह फरार छन् । यता सुनसरी प्रहरी मुद्दा फाँटका इन्स्पेक्टर सरोज खनालले आरोपितलाई पक्राउ गर्न स्थानीय प्रहरी र सादा पोसाकमा प्रहरी परिचालित गरिएको जनाए । ‘घरमै बसेको वा खुलेआम घुमेको कतै देखिएमा स्थानीय प्रहरी वा सुनसरी प्रहरीलाई खबर गर्न’ उनले आग्रह गरे ।

यस्तो छ घटना
सप्तरीको दौलतपुर नगरपालिका–३ स्थायी घर भई लहान बस्दै आएकी १८ वर्षीया विपना चौधरीलाई फकाएर भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरेको थियो । त्यतिबेला उनीसँगै साहिल, सूचिनकला र जीवछ पक्राउ परेका थिए । त्यसको केही दिनपश्चात् योजनाकारमध्येका एक विजय पक्राउ परे ।

उनीहरूमध्ये तीनजना झुम्का कारागारमा छन् भने एकजना मोरङ कारागार रहेको सुनसरी प्रहरीले जनाएको छ । उनीहरूले एक दिन पूजामा सहभागी भएबापत १–२ लाख रुपैयाँसम्म पाउने भन्दै फकाएर भारत पु¥याउँदै आएका छन् । पछिल्लो केही समययता विराटनगरबाट पनि तीनजना पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि थुनामा छन् । जसमा एकजना युवती पनि सामेल छिन् ।