भद्रपुर । प्रहरीले घरमा छापा मारेर दुई कार्टुन पटाका (आतीशबाजी) बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–६ स्थित कृष्णराज कम्पेलेक्स नजिकै विकास भन्ने व्यक्तिको घरमा मङ्गलबार छापा मारेर पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट भित्र्याइएको पटाका घरमा राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । सो घरधनीको बजारमा पसल रहेको छ । अन्दाजी २० हजार रुपैयाँभन्दा बढीको पटाका बरामद गरी नष्ट गरिएको छ ।

प्रहरीले सोमबार साँझ पनि भद्रपुरको दुई घरबाट ठूलो परिमाणमा पटाका बरामद गरेको थियो । भद्रपुर नगरपालिका–८ भद्रपुर जेसीज जाने बाटोमा पर्ने दुई घरबाट करिब साढे तीन लाख मूल्य बराबरको पटाका बरामद गरेको हो । सन्तोष नाम गरेका व्यक्तिको घरबाट प्रहरीले ११ बोरा पटाका बरामद गरेको प्रहरीले जनाएको छ ।