धरान/ सुनसरीको दुहबीस्थित काठ फर्निचर उद्योगमा तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुहबीले ९ जनालाई नगदसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले ७७ हजार ७ सय १० रुपैयाँ नगदसहित तीन बुङ तास बरामद गरेको छ । गोप्य सूचनाको आधारमा दुहबी नगरपालिका–३ स्थित आलम हुसेनले सञ्चालन गरेको उद्योगको कोठाबाट आइतबार उनीहरूलाई पक्राउ गरिएको हो ।

इन्स्पेक्टर घनेन्द्रहाङ खजुमको कमाण्डमा खटिएको टोलीले दुहबी–३ का ३४ वर्षीय अनिश सिंह, ४२ वर्षीय संसद मियाँ, ४६ वर्षीय मङ्गल साह, ३६ वर्षीय टेकबहादुर गिरी, ३८ वर्षीय आलम अन्सारी, ३४ वर्षीय दीपक अकेला, ५२ वर्षीय मोहम्मद मोक्तारलाई पक्राउ गरेको छ । त्यस्तै दुहबी–९ का ४५ वर्षीय मोहम्मद हजरत मियाँ र दुहबी–४ का ४४ वर्षीय सन्तोष बराल पनि पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी जुवा ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।