कोरोनाले मरे भने,

नछाप्नु लेखेर रिप् इन्स्टाग्राममा

भो ! नराख्नु,

रोएको स्माइली 

फेसबुकको भित्तामा ।

 
अनि, नलेख्नु तिम्रा समवेदनाहरु 
अङ्ग्रेजी अक्षरहरुमा ।
 
सक्छौ भने, भ्रष्टाचार र शोषण 
विरुद्धको मेरो लडाइलाई 
तिम्रो शक्ति थपेर दौडाइदिनु ।
 
मेरा अपुरा सपनाहरु
ती जवानहरुको लक्ष्यमा जोडिदिनु ।
 
मैले उठाएका दिवारहरुमा
मजवुत ढलान गरिदिनु ।
 
कोरोनाको उपचारमा संक्रमित भै
ज्यान गुमाएका ती 
निष्ठावान् चिकित्साकर्मीहरुलाई
 
शहीद घोषणा गरिदिनु ।
 
मेर‍ो सलामी ठोकिदिनु ।
 
 
कोरोनाले मरे भने,
डुबिसकेको मेरो देशको टाईटेनिक 
पुन: संचालनमा ल्याइदिनु । 
 
मेरो देशमा गडिएका
नातावाद, कृपावाद, गुटवाद्
भ्रष्टाचार र अत्याचारका राजनैतिक 
दीर्घकालिन रोगहरु अन्त्येष्टि मै जलाइदिनु ।
 
राजनिती समाज र जनताको 
समृद्धि र विकास मात्र हो भन्ने 
मन्त्र पढाईदिनु ।
 
सक्छौ भने, उपचार खोजी
कोरोनालाई परास्त गरिदिनु ।
 
आउने सन्ततिलाई बचाइदिनु ।
 
कोरोनाले मरे भने,
नगर्नु हेलचेक्य्राइँ अनि नलाउनु फुर्ती
तिमीलाई पनि सर्न सक्छ ।
 
नहाँस्नु कदापी अरुको देखेर
तिमीलाई पनि एकदिन ढाल्न सक्छ ।
 
छि छि र घृणा नगर्नु रोगीलाई,
तिमीलाई पनि यसले मार्न सक्छ ।
 
भुस्याहा कुकुर फाले जस्तै 
प्लाष्टिक बेरेर मेरो लाश नफाल्नु ।
 
न मुजरिम हुँ, न म आतंककारी 
इज्जत साथ परैबाट सलामी 
ठोकी मेरो अन्तिम संस्कार गरिदिनु ।
 
कोरोनाले मरे भने ।