विराटनगर/ छिमेकीले जग्गा हडप्न नपाउँदा विराटनगर महानगरपालिका–१६ दरैयाबस्तीका एक जना दलित युवाको हत्या गरेको पीडित परिवारले आरोप लगाएका छन् ।

जग्गा हडप्न खोज्नेहरूले ३० वर्षीय पति राजेश ऋषिदेवको कुटेर हत्या गरेको मृतककी पत्नी करनीदेवी ऋषिदेवले आरोप लगाइन् । पतिलाई कुटपिट गरी हत्या गरेर झुण्ड्याएको भए पनि आत्महत्या भन्दै प्रहरीले गम्भीर अनुसन्धान नगरेको उनको गुनासो छ । विपन्न ऋषिदेव परिवारले दुःख गरेर आर्जेको पैसाले दरैयाबस्तीमा एक कठ्ठा ऐलानी र ४ धुर नम्बरी जग्गा खरिद गरेर बस्दै आएका थिए । मृतक राजेशको १९ असार बिहान छिमेकीहरूले जग्गा हडप्न नपाउँदा मरणासन्न हुने गरी कुटपिट गरेर हत्या गरेको करनीदेवीले बताइन् ।

करनीदेवीका अनुसार आफूहरूले दुःख गरेर किनेको जग्गा आफ्नो भागमा परेको भन्दै छिमेकी गङ्गवा मण्डलले दाबी गर्दै आएका थिए । सोही विषयमा गत असार १९ गते बिहान जग्गा नापी भएको थियो । नापी गर्ने क्रममा ऋषिदेव परिवारको जग्गामा भएको घर आफ्नो भन्दै छिमेकी गङ्गवा मण्डलले भत्काउन दबाव दिएका थिए । सोही दिन ऋषिदेव परिवारको घर अगाडि भएको ‘दिनाभद्री भगवान्’ को मन्दिर पनि उनीहरूले भत्काइदिएको उनले बताइन् । आफूले रगत पसिना बगाएर जोडेको घर पनि भत्काउन भनेपछि डकर्मीको काम गर्ने राजेशले आक्रोसित हुँदै प्रतिवादमा उत्रिँदा सानो जातिको भन्दै छिमेकीहरू कन्हैया मण्डल, देवान मण्डल, गङ्गवा मण्डल, हरेराम र अनिल मण्डल भएर राजेशलाई मरणासन्न हुने गरी कुटपिट गरेको करनीदेवीको भनाइ छ । त्यही दिन दिउँसो आफ्नै घरभित्रको कोठामा राजेश झुण्डिएको अवस्थामा फेला परेका थिए ।

परिवारले छिमेकीको कुटाइबाट राजेशको हत्या भएको र पछि कोठामा लगेर झुण्ड्याइदिएको दाबी गर्दै किटानी जाहेरी दर्ता गराउन खोजे पनि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको उनको भनाइ छ । उनका अनुसार प्रहरीले आधार प्रमाण नभएको भन्दै किटानी जाहेरी दर्ता गराएनन् । प्रारम्भिक अनुसन्धानमै प्रहरीले घटनालाई आत्महत्या बताएको उनको दाबी छ । जग्गा विवादमा छिमेकीहरूले कुटेर हत्या गरेको भन्दै राजेशको परिवार र मुसहर सङ्घ मोरङले घटनाको सूक्ष्म अनुसन्धान गर्न मोरङ प्रहरीसँग आग्रह गरेको थियो । प्रहरीले बनाएको आन्तरिक छानबिन समितिले राजेशको मृत्यु आत्महत्याकै कारण भएको र हत्याको कुनै प्रमाण फेला नपरेको निष्कर्ष दियो ।

घटनाको अनुसन्धान गरेका इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इन्स्पेक्टर दीपक थापाले जग्गाको झगडामा कुटपिटका कारण घाइते भएपछि वैरागिएर राजेशले आफ्नै घरभित्र पसेर ढोका थुनी आफै झुण्डिएर आत्महत्या गरेको र उनकी श्रीमतीको सहयोगमा ढोका फोडेर शव बरामद गरेकोले कसैलाई कारबाही गर्न नसकेको बताए । ‘घटनालाई हामीले गम्भीररूपमा लिएर गहन अनुसन्धान गरेका थियौं’ उनले भने, ‘तर, हत्याको आधार प्रमाण केही फेला परेन । पोष्टमार्टम रिपोर्ट पनि झुण्डिएर मृत्यु भएको भन्ने आयो । यसैले कसैलाई पक्राउ गर्न नसकेका हौं । आरोप लगाएकै भरमा कसैलाई बिना प्रमाण झुठो मुद्दा चलाउन हुँदैन ।’

पतिको मत्युपछि पत्नी करनीदेवी ११, ९ र ७ वर्षका तीन जना छोराको बनीबुतो गरेर लालन–पालन गरिरहेकी छन् । आफूलाई अहिले गाउँमा बस्न पनि एकदमै असुरक्षा भएको उनले बताइन् । कमाउने भएको एकजना पतिको पनि हत्या गरेपछि रोजगारी नहुँदा छोराछोरी भोकभोकै सुत्न बाध्य भएको उनले सुनाइन् । उनले घटनाबारे गहन रूपमा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोग र सरकारसँग आग्रह पनि गरेकी छन् ।

पतिको मृत्युले विक्षिप्त बनेकी उनी आजकल दलित सङ्घ–संस्थाहरूले आयोजना गरेको प्रायः सबै कार्यक्रम र बैठकहरूमा पुगेर रूँदै आफ्नो वृत्तान्त सुनाउने पनि गर्दै आएकी छन् । मुसहर सङ्घ मोरङका अध्यक्ष जितेन्द्र ऋषिदेवले पनि राजेशको मृत्यु झुण्डिएर नभई कुटपिटबाट नै भएको दाबी गर्दै आएका छन् । उनका अनुसार प्रहरीलाई पटक–पटक घटनाबारे गहन अनुसन्धान गर्न अनुरोध गरे पनि प्रहरीले गम्भीर रूपमा नलिएको उनको आरोप छ ।