अमेरिका/ संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने निश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै बाइडेन राष्ट्रपति बन्ने पक्का जस्तै भएको हो ।

१६ इलेक्टोरल मत रहेको सो राज्यमा बिहीबारसम्मको मतगणनाको अन्तिम नतिजा बाइडेनको पक्षमा आएको छ । योसँगै उनले कुल २ सय ६४ इलेक्टोरल मत प्राप्त गर्दा विपक्षी उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय १४ इलेक्टोरल मत हासिल गरेका छन् । अमेरिकामा राष्ट्रपति चयनका लागि मङ्गलबार आमनिर्वाचन सम्पन्न भएको थियो । चुनावी मैदानमा उत्रिएका दुई उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति बाइडेनबीच भएको निकै कडा प्रतिस्पर्धामा बाइनेडले बाजी मार्ने पक्कापक्की भएको छ । अमेरिकामा इलेक्टोरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयाँ राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

कुल ५ सय ३८ मत रहेको इलेक्टोरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २ सय ७० मतको आवश्यकता पर्दछ । राष्ट्रपतिमा जित हासिल गर्नका लागि अब बाइडेनलाई ६ इलेक्टोरल मतको खाँचो छ । डेमोक्रेटिक पार्टीको पकडक्षेत्र मानिएको राज्य नेभादामा बाइडेनको जित निश्चित भएको बताइएको छ । उक्त नेभादा राज्यको कुल ६ इलेक्टोरल मतसहित उनलाई चुनाव जित्न आवश्यक २ सय ७० इलेक्टोरल मत सहज रूपमा प्राप्त हुने हुँदा बाइडेनको जित निश्चित भएको डेमोक्रेटिक नेताहरूले उल्लेख गरेका छन् ।

कोरोना भाइरसको महामारीकै बीच सम्पन्न भएको यस राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र सङ्घ–संस्था तथा मिडिया हाउसहरूले आ–आफ्नै तौरतरिका र पक्षबाट सार्वजनिक गरेको मत सर्वेक्षणमा दुवै उम्मेदवारबीच ९ देखि १२ अङ्कसम्मको भिन्नता देखाइएकोमा अहिले जारी मतपरिणाममा भने यो लोकप्रिय मतको दूरी दुवैबीच करिब २ अङ्कको वरपर सीमित छ । यसैबीच सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले प्राप्त गरेको सर्वाधिक धेरै लोकप्रिय मतको रेकर्डलाई बाइडेनले तोडेका छन् ।

पछिल्लो विवरणअनुसार बाइडेनको लोकप्रिय मतको सङ्ख्या ७ करोड कटेको छ भने त्यसबेला ओबामाले हासिल गरेको लोकप्रिय मत सात करोड पार भएको थिएन । अब बाइडेनलाई नेभादाको ६ मत प्राप्त हुँदा मत गन्न बाँकी राज्यहरू पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया र अलस्काको सबै मत ट्रम्पको पक्षमा गए पनि यो चुनाव जित्नलाई पर्याप्त हुने छैन । पछिल्लो समय मतगणना भएका यी कडा प्रतिस्पर्धात्मक राज्यहरूको मतगणनालाई रोक्न माग गर्दै ट्रम्पले अदालतमा मुद्दा दायर गरे पनि नतिजामा भने फरक नपर्ने बताइएको छ ।

यता प्राप्त ताजा रिपोर्टबमोजिम बाइडेनको अवस्था ५० प्रतिशत माथि पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्पको ४८ प्रतिशत रहेको छ । ब्याटलग्राउण्डका रूपमा हेरिएको टेक्सस र फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जितेका छन् । यद्यपि निर्वाचनको अन्तिम परिणाम आउन केही दिन लाग्नसक्ने बताइएको छ । कोभिड –१९ का कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिङ) गरेअनुसार झण्डै १० करोड मानिसले हुलाकको माध्यम तथा स्वयम् उपस्थित भई चुनावको दिनभन्दा पहिले नै मतदान गरिसकेका थिए ।

अमेरिकामा यसपटक १५ करोड हाराहारीमा मतदान भएको बताइएको छ । करिब ३३ करोड जनसङ्ख्या रहेको अमेरिकामा मताधिकार प्राप्त १८ वर्षमाथिका नागरिकको सङ्ख्या २४ करोड बढी रहेको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ । यस पटकको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गरेको अनुमान गरिएको छ । संसारलाई प्रभाव पार्नसक्ने सर्वशक्तिमान राष्ट्र अमेरिकाको यस निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको छ ।

आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइटहाउस प्रवेशको अनुमति कसलाई प्राप्त हुने हो त्यो भने आधिकारिक रूपमा घोषणा गर्न बाँकी नै छ । यस निर्वाचनलाई ७४ वर्षीय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहो¥याएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दिशामा उपयोग गरेको देखिन्छ भने आफ्ना प्रतिद्वन्द्वीभन्दा झण्डै ३ वर्ष पाको उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करिब ४० वसन्तपछि राष्ट्रको सर्वाेच्च कार्यकारी पदको ४६ औं नम्बरमा आफ्नो नाम दर्ता गरी जीवनको उत्तराद्र्धलाई अविस्मरणीय बनाउन लागिपरेका छन् ।
(गणेश थापाको सहयोगमा)