भद्रपुर । तीहारलाई मध्यनजर गरी नेपालमा प्रतिबन्धित भारतीय पटका नेपाली बजारमा भित्रिन थालेका छन् । झापाका विभिन्न नाकाबाट सुरक्षाकर्मीलाई आँखा छलेर कारोबारीले भित्र्याउन थालेपछि नेपाल प्रहरीले निगरानी बढाएको छ ।

प्रहरीले निगरानी बढाइरहेपनि खुला सीमाका कारण लुकिछिपी केही मात्रामा पटका बजारमा भने आउने गरेका छन् । नेपाल भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याएर लुकाई राखेको अवस्थामा प्रहरीले केहीदिन यतामात्र अनुमानित दश लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार दिउँसो झापाको भद्रपुर ५ मा लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पटाका बरामद गरेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

त्यसैगरी भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याइदैँ गरेको पटका इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी शनिश्चरेले विभिन्न स्थानबाट बरामद गरेको उनले जनाए । प्रहरी टोलीले मेचीनगर नगरपालिका –१०, अर्जुनधारा –५ बाट ६ लाख ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको उनले बताए ।

बरामद गरिएको पटका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए । कोरोनाका कारण नेपाल–भारत सीमा नाका बन्द भएपनि कारोबारीले विभिन्न समयमा अवैध रुपमा पटका ,खाद्य सामग्री, कपडा र चौपायाको तस्करी जारी राख्दै आएका छन् ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले आफनो स्वास्थ्यको ख्याल राख्दै भएपनि नियन्त्रणको प्रयास जारी राखेको जिल्लाका एसपीे कृष्ण प्रसाद कोइरालाले बताए ।