धरान । आकर्षक तलबको प्रलोभनमा पारेर मोरङ विभिन्न स्थानका तीन युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा सुनसरी प्रहरीले दुई भारतीय नागरिसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरी प्रहरीले गढी गाउँपालिकाको औरावनी चेक पोइन्टमा शङ्का लागेर जाँच गर्ने क्रममा भारत बिहार राज्यस्थित अररिया जिल्ला चहटपुर ग्राम पञ्चायतका दुई युवकसहित सुनसरी र मोरङका चार युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चहटपुर ग्राम पञ्चायत–७ का ३७ वर्षीय दीलिपकुमार साह, र सोही ठाउँ १० नम्बर वडाका ३५ वर्षीय दीलिप यादव, सुनसरी इनरुवा–८ का २८ वर्षीय सचिन मेहता र मोरङ विराटनगवर–१७ का २४ वर्षीय वरुणकुमार मण्डल रहेका छन् ।

ती युवाहरूले बेलबारीका २ युवती र विराटनगर–१७ की एक युवती गरी तीन जनालाई मासिक ६० हजार रुपैयाँ तलब पाउने भन्दै प्रलोभनमा पारेर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले उनीहरूलाई अपराध संहिता २०७४ अनुसार मानव बेचविखन मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाएको जनाएको छ ।

ती युवाहरूले युवतीहरूलाई कात्तिक १७ गते इनरुवाको टेम्पो स्टेण्डमा बोलाएर एक होटलमा रातभर राखेर भोलिपल्ट अर्थात कात्तिक १८ गते गढी गाउँपालिकाको बाटो भएर विराटनगरतर्फ लैजाँदै गरेको जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।