धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा धरौटी शुल्क नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा कोरोना संक्रमितको उपचारका लागि धरौटी सम्बन्धी सूचना प्रकाशन गर्ने सबै अस्पताललाई स्पष्टिकरण सोधिएको जानकारी गराए ।

सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोना उपचार र परीक्षणका लागि आफैं शुल्क व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णय पश्चात सरकारी अस्पतालहरुले धरौटी शुल्कसहितको सूचना प्रकाशित गरेका थिए ।

प्रवक्ता डा.गौतमले सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने निर्णय भने यथावत रहेको बताए ।

आर्थिक रुपमा विपन्‍न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने जनाएको छ ।