• विवेक विवश रेग्मी/इटहरी

हरेक व्यक्तिका सपना थुप्रै हुन्छन् । थोरै सपना पूरा भएमा मानिस खुसी हुन्छन् । राजनीतिक परिवर्तनसँगै देशको आर्थिक र सामाजिक फड्को मार्ने सुनौलो सपना साचेर माओवादी जनयुद्दमा लागेकालाई के दियो ? थुपै्र टाठाबाठाले राजकीय पद पाए भने कतिपयले आर्थिक रूपमा छलाङ् मार्न सफल भए । कतिपयको राजनीतिक जीवन बदलियो । तर, इटहरीका चन्द्रप्रसाद दाहाल उर्फ सीपी दाहाललाईं दैनिक गुजारा टार्न नै धौ–धौ छ ।

निलो कलरको सर्ट, छुस्स फुलेका दाह्री, भोकाएको पेटले कोही आउने आशमा ठीक इटहरी उपमहानगरपालिका गेट अगाडि उनी बसिरहेका हुन्छन् । बिहानको ८ बज्दा नबज्दै एकाध मानिसहरू आउँछन् । उनीसँग भेट हुन्छ र एउटा चिया पसलमा गएर नास्ता खान्छन् । मनबाट खुशीको कान्ति हराए पनि मुहारबाट भने हराएको छैन । यसरी पूर्वी नेपालको ठूलो सहर इटहरीको फुटपाथमा आफ्नो जीवनसँग जिस्किरहेका छन् दाहाल । उनी भिखारी सरह सडकमा भौतारिदै हिँड्ने गरेका छन् ।

०३६ जेठ ८ गते झापामा जन्मिएका उनले कर्मथलो इटहरी बनाए । आफ्नो अध्ययन र परिवार पनि इटहरीमा राम्रैसँग चलिरहेको थियो । ०४९ सालमा आफ्ना बाबु बितेपछि विक्षिप्त बनेका दाहालको बालापन कहिले घाँस, दाउरा बोकेर त कहिले पत्रपत्रिका बेचेर बित्यो । ०५५ सालमा तत्कालिन अनेरास्ववियूबाट राजनीति थालेका उनले त्यस समयमा भादगाउँ सिनुवारी इकाई कमिटी अध्यक्ष हुँदै संगठनमा लागि परे ।

‘पार्टीलाई सहयोग गर्दै स्कूल बेलाबखत जाने गर्थेँ,’ उनले आफ्नो विगत सम्झदैँ भने, ‘पार्टीमा लाग्दा गाँस, बास, कपास सबै कुराको ग्यारेन्टी हुन्छ भन्ने विचारमा केन्द्रित भएपछि राजनीति सुरु गरेँ ।’ उनले आफूलाई देवहरी रिजाल, रोहित कोईराला, राम कार्की लगायतले पार्टीमा लागेमा सबै कुराको ग्यारेन्टी हुने बताएकाले आफू राजनीतिमा सक्रिय भएको सुनाउँदै भने, ‘पार्टी बलियो बनाउनुपर्छ, आफ्नो पनि ग्यारेन्टी हुन्छ भन्ने विश्वासले राजनीतिमा होमिएको हुँ, अहिले आफ्नो समस्या पूरा नभए पनि समग्र राज्यका पीडित समुदायको आशा केही भए पनि समाधान हुँदा खुशी पनि लाग्छ ।’

तत्कालीन समयमा अनेरास्ववियूको संगठन सुदृढ नभएपछि अखिल क्रान्तिकारी भासी माध्यमिक विद्यालयको अध्यक्ष भएर आफूले नेतृत्व लिँदै संगठनको जिम्मेवारीमा रहेर काम गरेको उनले सुनाए ।

‘बेला–बेला त ती दिन सम्झिदा भावुक हुन्छ, अहिले निराशतामा दिन बित्दैछ,’ उनले सुनाए, ‘०५८ सालमा संकटकालको समयमा पक्राउ परेपछिका दिनहरू भने अहिलेसम्म नै कठीन रूपमा बितिरहेको छ ।’ ०५८ फागुन ८ गते संकटकालको समयमा संगठन निर्माण गर्ने क्रममा नेपाली सेनाले पक्राउ गरेपछि गोली प्रहार गरेको सम्झदा उनी भावुक बने । तत्कालको सुनसरीस्थित चाँदबेला गाविस ३ बाट पक्राउ गरी दुईपटक गोली प्रहार गरेको सुनाउँदै उनले भने, ‘सेनाले दुईपटक गोली प्रहार गर्यो, पहिलोपटक गोली प्रहार गर्दा कम्मरमुनी लागेको थियो, त्यसपछि भने केही थाहा नै पाइन ।’

दाहालले आफूलाई गोली लागेको कुरा सम्झिएपछि आफूलाई असहज भएको बताए । ‘बेला–बेला त शरीर दुखेर निकै साह्रो पार्छ, एकछिन जिउ तन्काउँछु है,’ कुरा गरिरहेको ठाउँबाट एकछिन उनी उठे र शरीर यताउता तन्काउन थाले ।

गोली लागेपछि सेनाले घिस्याउँदै ल्याएर पानीमा आधा शरीर र आधा टाउको बनाएर छाडेको र पछि प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगेको उनले बताए । भने, ‘आधा शरीर पानीमा र आधा जमीनमा थिएछ, यो मान्छे मर्यो भनेर प्रहरीले पोष्टमार्टम गर्न लैजाँदा जीवित देखिएपछि धरानको घोपामा उपचार गर्न लगिएछ ।’ उनले एकैपटक आँफ्नो वैशाख १७ गते मात्रै होस खुलेको र होस खुल्दा एउटा हातमा हतकडी लगाइएको बताए ।

‘वैशाखमै डिस्चार्ज भएपछि इलाका प्रहरी धरानमा मध्यराति लगियो, त्यहीँदिन फुस्रेमा सेनालाई जिम्मा लगाइयो,’ सीपी सुनाउँछन्, ‘त्यतिखेर हिँड्न सक्दिनथेँ, उनीहरूले दुईतिरबाट झुण्ड्याउँदै लगे ।’ करिब दुई साता धरानको फुस्रेमा सेनाले राखेपछि इटहरीमा रहेको पूर्वी पृतना हेडक्वाटरमा ल्याइएको उनले सम्झे । ‘पृतनामा त हातको औँलामा करेन्ट लगाइयो, सेनाले आतंककारी भनेर उपनाम नै दियो,’ भावुक हुँदै सुनाए, ‘नेताहरुले बम बारुद बनाउँने ठाउँ सोध्यो, नेताहरू बस्ने सेन्टर सोधेर दुई महिनासम्म मानसिक यातना दियो ।’ उनले आफूलाई नेताहरूको बारेमा सोधे पनि आफूले अडान नछाडेको सुनाए । ‘पार्टीलाई मैले दिएको बचन र प्रतिबद्धताले कहिल्यै पनि पार्टीको बारेमा भनिन’ दाहालले सुनाए ।

उनले आफूलाई धेरैपटक, धेरै कारण देखाउँदै पार्टीको बारेमा सेनाले अनुसन्धान गर्दा पनि केही जानकारी नदिएको बताए । आफूलाई नाङ्गै बनाएर करेन्ट लगाउँदा समेत आफूले पार्टीको बारेमा नभनेको र ०५९ सालको युद्धविरामपछि छाडिदिएको बताए ।

‘गोली लागेको समयदेखि अहिलेसम्म एकोहोरो बस्न पनि सक्दिन, हिँडिरहन पनि सक्दिन,’ दाहालले भने, ‘रातको निद्रा शक्तिशाली हुँदैन, खाने बस्ने ठाउँ सबल छैन, त्यसकारणले पनि शरीर दुखेको होला ।’

उनले आफ्नो उपलब्धिबिनाको हिँडाइ रहेको बताउँदै भन्छन्, ‘आफ्नो स्थिति दयनीय भएकै कारणले साथीभाइको पखाइमा हुन्छु, यसरी नै दैनिकी चलेको छ ।’ ०६० सालको वार्ता भंग भएपछि पुनः आफू गिरफ्तारमा परेको उनले सम्झिए । पुनः गिरफ्तार गरी नेपाली सेनाले पृतनामा ल्याएको उनले बताए । ‘तँ मरेर पनि माओवादी नछाड्ने भनेर सेनाले यातना दियो,’ उनले भने, ‘एक महिनासम्म मलाई त्यहाँ राख्दा कहिले गीत गाएर बसेँ, कहिले भावुकतामा बसेँ ।’

आफूलाई जस्तोसुकै यातना दिए पनि आत्मसमर्पण नगरेको कुरा सम्झदै उनले अदालतमा रिट समेत हालेको बताए । तत्कालीन वकिल हेमराज पन्तको इजलासले आफूहरुको पक्षमा घोषणा गरिदिएपछि जीवन सहज बन्दै गएको उनले सुनाए ।

०६४ सालमा संविधान जारी भएपछि आफूहरूले ‘नौलो विचारको नयाँ अनुहार’ नामक किताब समेत प्रकाशन गरेको र उक्त किताबमा उमेद्वार नेताहरूको जीवनी समेटेको उनले सुनाए । ‘सेनाले पक्रिँदा नेताहरूको नाम भनेको भए जाकिन्थे,’ उनले सम्झे, ‘मलाई अहिले जीवन धिक्कार जस्तो लाग्न थालेको महसुस हुन्छ ।’ आफूले ०६६ सालमा विवाह गरे पनि पारिवारिक सम्बन्ध सुमधुर बन्न नसकेको सम्झदा उनी बेला–बेला बिक्षिप्त बन्छन् ।

‘उर्लाबारीकी केटीसँग विवाह गरेँ, पारिवारिक जीवन धान्न गाह्रो भएपछि ०७२ सालमा डिभोर्स भयो,’ उनले पारिवारिक सम्बन्धबारे सम्झदै सुनाए, ‘समाजले नैतिक स्वार्थका कारण उचाल्ने र अनेक लाञ्छना लगाउने गरेका कारण पािरवारिक जीवन सुखद् रहेन ।’ आफूले सो समयमा इटहरीको बीपी चौकमा रहेको एक कम्पनीमा सेक्युरिटीको जागीर समेत खाएको दाहालले बताए । तपाईंहरू जस्तै माथि टेकेर माथि पुग्नेहरू पनि छन् नि भन्ने प्रश्नमा उनले गहिरो जवाफ दिए । भने, ‘हामीजस्ता योद्धामाथि टेकेर माथि पुग्नेहरू पनि छन्, यो बेलामा जीवन धिक्कारजस्तो लाग्छ, मैले उठाएका आवाजहरू बेकार जस्तो लाग्छ ।’

उनले अहिलेको समयमा आफूले उठाएका आवाज बेकारजस्तो महसुस हुने गरेको सुनाए । ‘साथीहरूले जीवन बनाए त्यता हेर्दा खुसी पनि लाग्छ,’ उनले भने, ‘मैले सोचेका जनताको सपना पूरा भएको सम्झदा खुसी हुन्छु ।’ निर्बल मानिसहरूले पनि नेतृत्व पाउनुपर्ने उनको तर्क छ । ‘निर्बल मानिसहरूले नेतृत्व नपाउदा धिक्कार लाग्छ, अब फेरि पनि रगतको खोलो बग्नु हुँदैन,’ बसेको ठाउँबाट उठ्नु अगाडि आँखातिर हात लैजाँदै उनले भने । उनले अहिले आमालाई आफ्नी दिदीकोमा राख्दै आएको सुनाए ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । दाहालको न बस्ने ठेगान छ, न त खाने । बिरामी, साह्रो, गाह्रो पर्दा कसलाई, के सहयोग माग्ने भन्ने पनि अन्यौलमा उनको जिन्दगी गुज्रिरहेको छ । पार्टीका नेताले कुनै सपोर्ट गरेका छैनन् । सीपी जस्तै अन्य सीपीहरूको जनयुद्धको आलो घाउमा राज्यले मल्हमपट्टी लगाउन आवश्यक छ ।