• भूपेन्द्रराज तिम्सिना/पथरीशनिश्चरे

मोरङको पथरीशनिश्चरे नगर कोरोनाको हटस्पट बन्दै गएको छ । जनप्रतिनिधि, नगर कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारसहित पछिल्लो पटक एकै पटक ३८ जनामा कोरोना देखिएको छ ।

कोशी अस्पताल विराटनगरमा ७ दिनअघि पठाइएको स्वाबको आज आएको रिपोर्टमा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलासहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र नगर प्रहरी, समुदायका ३८ जनामा कोरोना पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो पटक १ सय १४ जनाको स्वाबको नमूनामध्ये ३८ जनामा पोजेटिभ देखिएको हो । जसमा एकजना पत्रकार समेत रहेका छन् । सोही बेला पठाएको स्वाबको प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहित ९ जनामा पोजेटिभ देखिएको थियो ।

नगरले स्वाब संकलन गरी गरिएको परीक्षणमा १ बढीमा कोरोना देखिएको छ भनें व्यक्तिगत हिसाबले निजि अस्पतालमा गएर परीक्षण गर्नेहरुमा पनि २ दर्जनको संख्यामा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण वडा नम्बर १ का अस्पताल सञ्चालक रामकाजी थापाको निधन भएको छ ।

पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेल, पथरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पर्शुराम कार्की, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी, राष्ट्यि युवा संघका केन्द्रीय सदस्य विजय डाँगी, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीपकुमार गिरी सहितलाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै, पथरी नगर अस्पतालका दुवैजना डाक्टरसहित स्वास्थ्यकर्मी समेत संक्रमित हुन पुगेका छन् । जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी सहितमा कोरोना देखिएपछि असोज ३० देखि नगरपालिका, वडा कार्यालय तथा नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र १ नम्वर वडाको आधारभूत स्वास्थ्य केन्द्रको सेवा समेत बन्द गरिएको छ ।

नगरमा तीव्रतर रुपमा कोरोना संक्रमण बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैठलगायत चाडपर्वका बेला झनै बढी स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन् । उनले अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर आफुपनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेका छन् ।