विराटनगर/ कोरोना संक्रमित बिरामीको उपचार खर्च सरकारले नबेहोर्ने निर्णय गरेपछि प्रदेश १ को राजधानी विराटनगरमा रहेका निजी अस्पतालले संचालन गरेका कोभिड अस्पतालहरूले आफुसुखी शुल्क निर्धारण गरेका छन् ।

सरकारको २ कार्तिकमा संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय गरेपछि विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटल, न्यूरो अस्पताल र विराट टिचिङ्ग हस्पिटलले भर्ना हुने कोरोना संक्रमित विरामीहरूको उपचारमा शुल्क निर्धारण गरेका हुन् । यहाँ संचालनमा आएका कोभिड अस्पतालहरूले संक्रमित विरामीसँग लिने शुल्क आफुसुखी तोकेका छन् । अस्पतालले लिने शुल्क पनि एकरूपता नभएको पाइएको छ ।

निजी अस्पतालहरूले संक्रमितको उपचारमा ५ हजारदेखि ५० हजार रूपैयाँसम्म प्रतिदिनको शुल्क निर्धारण गरेका छन् । सरकारी शुल्कका आधारमा हेर्दा निजी अस्पतालमा जटिल संक्रमितको उपचार खर्च तीन गुणा महँगो पर्ने देखिन्छ । विराटनगरका अस्पतालहरूले निर्धारण गरेको शुल्कलाई हेर्दा सामान्य लक्षण भएका संक्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक ५ हजारदेखि ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने देखिन्छ । लक्षणसहितको सामान्य अस्पतालमा भर्ना भएका बिरामीले १५ दिनसम्म बस्दा न्यूनतम १ लाख २० हजार तिनुपर्ने अवस्था रहेको निजी अस्पतालहरुको शुल्क हेर्दा देखिन्छ ।

विराट टिचिङ्गमा ५० हजारसम्म
मोरङको बुढीगंगा गाउँपालिका २ टिंकसिनवारीस्थित विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पताल १ सय शैय्याको रहेको छ । १८ वटा आइसियूसहितको कोभिड अस्पताल प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले उद्घाटन गरेपछि गत भदौ ५ गतेदेखि संचालनमा आएको थियो । संचालनमा आएको सो अस्पतालले संघिय सरकारसँग सम्झौता गरि सोही दिनदेखि कोभिड १९ का विरामीको निःशुल्क उपचार गर्दै आएको थियो ।

सरकारले संक्रमितको उपचार खर्च नबेहोर्ने निर्णय गरेपछि सशुल्क रूपमा उपचार सुरू गरेको अस्पतालका प्रशासकीय प्रमुख सुधीर सिंह राठोरले जानकारी दिए । सो अस्पतालले कोभिडका विरामीको उपचार गर्ने दर रेट पनि सार्वजानिक गरेको छ । विराटको तीन प्रकारको रेट रहेको छ । अस्पतालका प्रमुख प्रसासकिय अधिकृत राठोरका अनुसार जेनेरल वेडको प्रतिदिनको दर ८ हजार रूपैयाँ रहेको छ । यस्तै अक्सिजनसहितको वेडको प्रतिदिन ३५ हजार र भेन्ट्रिलेटरको ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले तोकेको शुल्कमा खाना, खाजा र चिकित्सकको चार्जसहितको उपचार खर्च भएको प्रसासकीय प्रमुख राठोरले जानकारी दिए । कोरोना संक्रमितको उपचार गर्दा आवश्कय पर्ने स्वास्थ्य सामाग्रीहरू महंगो पर्ने भएकोले खर्चिलो देखिएको उनले बताए । हासम्म विराट टिचिङ्गको कोभिडमा १ सय २० जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

न्यूरोमा ३० हजारसम्म
विराटनगरस्थित न्यूरो हस्पिटलले छुट्टै विराटनगरको महेन्द्रचौकस्थित न्यूरो कोभिड अस्पताल भदौ ११ गतेदेखि संचालनमा ल्याएको छ । न्यूरोले २ वटा भेन्ट्रिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

अस्पतालको ७ वटा आइसियू बेड रहेको छ । भदौ २३ गते प्रदेश १ को सामाजिक विकास मन्त्रालसँग कोभिडका विरामीको निःशुल्क उपचार गर्ने सम्झौता भएपछि उपचार सुरू गरेको अस्पतालका प्रसाशकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । कोरोना संक्रमितको उपचारमा सरकारसँग अस्पतालले तीन प्रकारको दररेट राखि सम्झौता भएको थियो । सम्झौता अनुसार लक्षणसहितको सामन्वय विरामीको ६ हजार, मध्यम जटिल विरामीको १० हजार र गम्भिर खालको विरामीको १५ हजार रुपैयाँमा उपचार गरिने अस्पतालसँग सम्झौता भएको थियो । उक्त सम्झौता प्रतिदिनको हो ।

न्यूरो अस्पतालका प्रशासकीय अधिकृत अचार्यका अनुसार कोरोनाको उपचार खर्चिलो हुने भएकोले सरकारसँग गरेको सम्झौतामा थप घट गरि शुल्क निर्धार गरेको बताए । न्यूरोले जनेरल बेडको दैनिक चार्ज ४ हजार ६ सय २५, आइसियूको १५ हजार र भेन्ट्रिलेटरसहितको आइसियूको ३० हजार प्रतिदिनको रहेको उनले जानकारी दिए ।

सरकारले कोरोना संक्रमित विरामीको निःशुल्क उपचार नगर्ने निर्णाय गरेपछि मंगलबारदेखि भर्ना भएका विरामीको शुल्क लिएर उपचार गर्ने उनले बताए । ‘कोरोना संक्रमितको उपचारमा प्रट्रोकलदेखि हरेक स्वास्थ्य सामाग्री महङगो छ,’ उनले भने, ‘सरकारले गरेको सम्झौता थपघट गरि शुल्क निर्धाण गरेका हौं ।’ हालसम्म न्यूरोको कोभिड अस्पतालमा ४५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

नोबेलको शुल्क निर्धारण गुपचुप
विराटनगर – ४ कञ्चनबारीस्थित नोबेल टिचिङ्ग हस्पिटलले सशुुल्क रूपमा गरिने उपचार शुल्क निर्धाण गुपचुप राखेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले हालसम्म अस्पतालले कोभिडको उपचार गरिने शुल्क निर्धारण नगरेको जानकारी दिए । ‘हामीले अहिलेसम्म शुल्क निर्धारण गरेका छैन,’ उनले भने, ‘कोभिड अस्पताल अहिले विरामी भरिभराउ छ । नयाँ भर्ना भएका विरामीको हकमा प्रशासनले शुल्क चाँडै निर्धारण गर्नेछ ।’ नोबेल टिचिङ्ग हस्पिटलले ५ वटा भेन्ट्रिलेटरसहित १ सय १८ शैय्याको कोभिड अस्पताल संचालनमा ल्याएको छ । सो अस्पतालमा ९ वटा आइसियू रहेको छ । अहिले अस्पतालमा १ सय भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको अस्पताले जनाएको छ ।

सरकारको गैरजिम्मेवार निर्णय: डा. सुब्बा
जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बाले राज्यले गैरजिम्मेवार निर्णाय गरेको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खाजेको बताए । ‘कोरोना संक्रमणको जोखिम बढीरहेका बेला परीक्षण र उपचारको सेवा दायरा बढाउने बेला आफैं परीक्षण र उपचार गर भन्नु त जिम्मेवारीबाट पन्छिन खाजेको देखियो,’ उनले भने, ‘सरकारले निर्णायले अब थप जोखिम बढाएर लगेको छ ।’

स्वास्थ्य मन्त्रालयको यस निर्णय कोरोना संक्रमणको जोखिमलाई बढावा दिने खालको भएको उनको भनाई छ । सरकारले विशेष अवस्था बाहेकका व्यक्तिको परीक्षण र उपचार नगर्ने भएपछि संक्रमण व्यापक रुपमा बढ्न सक्ने उनले बताए । उनले भने, ‘सरकारले विशेष अवस्था बाहेक पनि उपचारको आवश्यक पर्ने र आर्थिक अभाव भएकाको पनि उपचार गर्नुपथ्र्यो । दायरा खुम्च्याउने होइन बढाउँदै लानु आजको आवश्यकता हो ।’

सरकारले उपचार खर्च दिन ढिलाई
कोरोना संक्रमितको उपचार गरेको निजी हस्पिटलहरूलाई लागेको उपचार खर्च दिन सरकारले ढिलाई गरेको छ । कोरोना संक्रमितको उपचार गर्दौ सम्झौता अनुसार १५/१५ दिन बिल पेश गरेअनुसार भुक्तानि दिने सहमति भएको थियो । संक्रमितको उपचार गरेको पहिलो पटक पेश गरेको भुक्तानि हालसम्म नपाएको न्यूरो हस्पिटलका प्रशासकीय अधिकृत अचार्यले जानकारी दिए । ‘पहिलो पटक बिल पेश गरिएको भुक्तानि अहिलेसम्म पाएको छैन,’ उने भने, ‘मन्त्रालयमा गएर बुझदा स्वास्थ्य मन्त्रालयबाटै रकम नआएको दिन नसकिएको भन्दै आएका छन् ।’

neuro-1170x700 Birat Nobel-Photo-2-scaled (2)