विराटनगर । युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो ।
युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका लगायतका समाग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले हस्तान्तरण गरेका हुन् । ।
स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता बिस्तार गर्न लागेको बताए । कोभिड अस्पतालमा थप बेड बिस्तार सहित १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको उनले बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले निजि स्तरको सहयोगमा अक्सिजन सहित एक सय वेडको अस्पताल संचालनको तयारी गरिरहेको बताए ।
युएनडीपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।