बीबीसी नेपाली/ ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमण भएका एक व्यक्तिले आफ्नो श्रवणशक्ति गुमाएका छन् । पैँतालीस वर्षीय ती पुरुषले अब कहिल्यै कान सुन्न नसक्ने चिकित्सकहरूले बताएका छन् ।

कोरोनाभाइरस महामारीसँग सम्बन्ध भएको यस किसिमको समस्या पहिलो पटक आफूहरूले देखेको यूकेका चिकित्सकहरूको भनाइ छ। दुर्लभ भए पनि फ्लू र अन्य भाइरसको सङ्क्रमण हुँदा अकस्मात् श्रवणशक्ति गुम्न सक्छ।

नाक, कान र घाँटीका विशेषज्ञ चिकित्सकहरूले 'बीएमजे केस रिपोर्ट्स' जर्नललाई बताएअनुसार समयमै स्टेरोइडयुक्त औषधि प्रयोग गर्न सकिए बिरामीलाई त्यस्तो क्षतिबाट जोगाउन सकिन्छ।

रगत र औषधि
दमबाट पनि पीडित ती बिरामीलाई कोभिड-१९ को लक्षण देखिएपछि लन्डनस्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सघन उपचारका लागि सारियो।

परीक्षणमा कोरोनाभाइरस पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखियो। उनलाई विभिन्न औषधि र रगत दिनुपरेको थियो। स्थितिमा सुधार आएपछि उनलाई ३० दिनपछि भेन्टिलेटरबाट निकालियो।

तर त्यसको एक सातापछि सास फेर्न सहज बनाउन जोडिएको ट्यूब निकालेर सघन उपचारकक्षबाट निस्किएपछि उनलाई आफ्नो कान बजेको र देब्रे कान अकस्मात् बन्द भएको थाहा भयो।

श्रवणशक्ति जाँच्दा कानसँग सम्बन्धित स्नायु, कानको मध्य भाग वा दुवैमा क्षति पुगेको सङ्केत देखियो। चिकित्सकहरूले भर्खर कोभिड-१९ भएकोबाहेक त्यसको कारण पत्ता लगाउन सकेनन् ।

उनीहरूले ती व्यक्तिलाई स्टेरोइड र कानमा सुई दिए। त्यसबाट केही फाइदा त भयो तर उनले कहिल्यै निको नहुनेगरी श्रवणशक्ति गुमाएका छन् । 'मानिसहरूमा सबैतिर कोरोनाभाइरस फैलिएको हुँदा र श्रवणशक्ति गुम्ने समस्या देखिएको हुँदा यसबारे थप अनुसन्धान गर्न आवश्यक छ,' यूनिभर्सिटी कलेज लन्डन र रोयल न्याश्नल थ्रोट, नोज, ईअर हस्पिटलका विज्ञहरूको टोलीले भनेको छ।

कोरोनाभाइरसले फोक्सोमा हुने एक किसिमको विशेष कोशमा सङ्क्रमण गर्छ। ती कोशमा जस्तै कानको मध्य भागमा हुने कोशमा पनि उही खालको प्रोटीन रिसेप्टर हुन्छ।