धरान । धरान–८ का कोरोना संक्रमितसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जनाको ज्यान गएको छ ।

धरान–८ का ६२ वर्षीय महिलासहित सुनसरी दुहबी र धनकुटाका एक जना गरी तीन जनाको कोरोना संक्रमणको कारण ज्यान गएको हो । धरानकी संक्रमित वृद्धा असोज २१ गते बीपी प्रतिष्ठानमा भर्ना भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको असोज २४ गते निधन भएको हो । त्यस्तै सुनसरी दुहबी नगरपालिकाका ६५ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।

उच्च रक्तचाप र निमोनियाका समस्या भएका उनलाई असोज १५ गते भर्ना गरिएको थियो । उनको आज बिहान ३ः५० बजे निधन भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै धनकुटा अस्पतालबाट रिफर भएका आएका ६१ वर्षीया महिलाको पनि कोरोना संक्रमणको कारण निधन भएको छ । उनलाई मधुमेह र उच्चरक्तचापको समस्या रहेको अस्पताले जनाएको छ । असोज २० गते कोरोना देखिएकी उनको पनि आज बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनीहरूको शव नियमानुसार व्यवस्थापन भइरहेको जनाइएको छ ।