भद्रपुर/ भद्रपुर भन्सार कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कार्यालयका ५५ वर्षीय कार्यालय सहयोगीलाई सङ्क्रमण देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । पाँच जना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको उनले जनाए ।
भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुरका ४७, २६, ३८ र ३५ वर्षका, भद्रपुर भन्सार कार्यालयका एक र भद्रपुर १० नम्बर वडाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले जनाए । नगरपालिकाले मेची अस्पतालमा गरिएको ९२ जनाको कोरोना परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।
सीमा नाकाको भन्सार कार्यालय कर्मचारीमा कोरोना पुष्टि भए पनि कार्यालय भने खुला रहेको छ । पहिलो पटक सीमा नाकामा खटिएका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि आसपासका स्थानीयमा त्रास बढेको छ । एक व्यापारीलाई कोरोना हुँदा बजार बन्द गराउने नगरपालिकाले भन्सार कार्यालय बन्द गराउन कुनै पहल नगराएको प्रति स्थानीयले गुनासो गरेका छन् ।