पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा समुदाय स्तरमा ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भए पछि संक्रमित क्षत्र पुन बन्द भएको छ ।
कोरोना संक्रमित वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीको कन्ट्रयाक ट्रेसिङमा परेका ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिए पछि बन्द भएको हो ।
आइतबार साँझ विपत व्यवस्थापन समितिको बैठकले कोरोना प्रभावित क्षेत्रहरुमा औषधी, भेटनरी, दुधजन्य पसल बाहेक सबै प्रकारका पसलहरु ३ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षण सिकाई विधि ७ गतेबाट सुरु भएको संस्थागत र सामुदायिक विद्यालयहरुले असोज २४ गते सम्म बन्द गर्नुु पर्ने र विद्यार्थी भर्ना अभियान भने खुल्ला रहने छन् ।
जनएकता साकोसका कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि विपत व्यवस्थापन समितिको बैठकले संस्था ७ दिन बन्द गर्ने र अन्य वित्तिय संस्था, बैंक र सहकारी संस्थाहरु स्वास्थ्य मापदण्ड अपनाई सामाजिक दुरी काम गर्दै संचालन गर्न पाउने छन् ।
गाउँपालिका र वडाकार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु बन्द रहने छ । कोरोना पोजेटिभ देखिएको व्यक्तिहरु सँगको कन्ट्रयाक ट्रेसिङमा रहेका सवै व्यक्तिहरुले गाउँपालिकाको स्वास्थ्य शाखामा आएर पीसिआर टेष्टको लागि स्वाब दिएर रिपोर्ट नआईजेल सम्म होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले विज्ञप्ती मार्फत सूचना गरेको छ ।
कन्ट्रयाक ट्रेसिङमा परेका र होम आइसोलेसनको स्वाब संकलन गरी पीसिआर टेष्टको लागि असोज १६ गते विराटनगर स्थित कोशी अस्पताल पठाइएको थियो । सो टेष्टको रिपोर्ट आइतबार गाउँपालिकालाई प्राप्त भएको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए । गाउँपालिकाको कार्यालय रहेको वडा नं. ६ को रमाइलो चोकमै ३ जनामा कोरोना देखिएको छ । एक हप्ता अघि पीसिआर टेष्टमा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएछि वडाकार्यालय बन्द गरिएको छ ।