भद्रपुर । भूमि सुधार तथा मालपोत कार्यालय झापाका एक जना कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मालपोतका मुद्दा शाखामा कार्यरत भद्रपुर नगरपालिका १० का ५० वर्षीय एक पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।

यता मालपोतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै मालपोतको मुद्दा शाखा बन्द गरिएको भूमि सुधार तथा मालपोत कार्यालय झापा प्रमुख योगेन्द्र दुलालले जानकारी दिए ।

मालपोतका एक जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि कार्यालयको अन्य कामकाज प्रभावित हुन नदिन एउटा शाखा मात्र बन्द गराएको कार्यालय प्रमुख दुलालले बताए ।

मुद्दा शाखामा कार्यरत सबै कर्मचारी होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकेको उनले जनाए । यता पहिलो पटक मालपोतका कर्मचारीलाई कोरोना भेटिएपछि सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीमा त्रास फैलिएको छ ।

पछिल्लो २४ घण्टामा मेची प्रादेशिक अस्पताल भद्रपुरको पीसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १०१ जनाको रिपोर्ट आएको छ । त्यसमध्ये तीन जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए । तीन जनामध्ये दुई जना भद्रपुर र एक जना अर्जुनधाराका रहेका छन् ।

मालपोत कर्मचारीसहित अर्को एक व्यक्ति भद्रपुर ५ का ३० वर्षीय पुरुषलाई कोरोना देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन भट्टराईले बताए ।

केही दिनअघि झापा कारागारमा छुटेर आएका ती पुरुषलाई कोरोना देखिएको उनले बताए । त्यस्तै अर्जुनधारा नगरपालिका ९ बस्ने ४५ वर्षीय स्थानीय पुरुषलाई कोरोना देखिएको हो ।

केही दिनअघि काठमाडौँबाट झापा घर फर्किएका उनलाई कोरोना सङ्क्रमण जस्तो लक्षण देखिएपछि बिर्तामोडको एक क्लिनिकमा उपचारका लागि गएको समेत बताइएको छ ।