विराटनगर। विराटनगरस्थित न्यूरो हस्पिटल द्धारा संचालित कोभिड अस्पताललाई कोरोना परीक्षणको लागि सरकारले अनुमति दिएपछि परीक्षण सुरू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको लागि अनुमति दिएपछि आइतबारदेखि परीक्षण सुरु गरेको हो । सामुदायस्तरमा विराटनगरमा संक्रमण फैलिएपछि यसको रोकथाम र नियन्त्रणमा कोभिड अस्पताल संचालनमा ल्याएको न्यूरोले पीसिआर मेसिन ल्याएपछि अब अस्पतालमा कोरोना परीक्षण हुने भएको छ । संचालनमा आएको पिसिआर ल्याब प्रदेश नं. १ मा पहिलो अत्याधुनिक भएको न्यूरोले दाबी छ ।

परिक्षणको संख्या बढाउनु पर्ने अवस्था रहेको बेला सरकारले न्यूरो अस्पताललाई निजि स्तरबाट पहिलो पटक कोरोना परिक्षण गर्न अनुमति दिएसंगै अब कोरोनाको परिक्षण केहि सहज हुने अनुमान गरिएको छ । न्यूरोको कोभिड अस्पतालमा ‘आर.टि पिसिआर ल्याब’ संचालनमा हो । निजि स्तरमा प्रदेशमै पहिलो पटक न्यूरो अस्पतालले आर टि पिसिआर ल्याब संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।

विराटनगर १० स्थित कोभिड अस्पतालमा अत्यधुनिक ल्याबमा अजुर कम्पनीको पिसिआर मेसिन तथा जिबिओ कम्पनीको न्युकलिक एक्स्ट्रयाक्सन मेसिन जडान भएको छ । सरकारले निर्धारण गरेका सम्पुर्ण परिक्षण तथा मापदण्डहरू पूरा गरेपछि मन्त्रालयले मान्यता प्रदान गरेको अस्पतालले जनाएको छ । संचालनमा आएको ल्याबमा दैनिक १ हजार भन्दा माथि पीसिआर परीक्षण हुने बताइएको छ । निजी स्तरबाट कोरोना परीक्षण गरिने ल्याब संचालनमा आएपछि अब लामो समयसम्म रिपोटको पर्खाइ अन्त्य हुने हुने अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले बताए ।

उनले कोरोना बिरुद्धको लडाईमा कोभिड अस्पतालको संचालन पछि आर टि पिसिआर ल्याब संचालनमा आएपछि सरकालाई संक्रमण रोक्न र नियन्त्रणमा सहयोग पु¥याएको बताए । न्यूरो अस्पतालले प्रदेशमै निजि स्तरबाट पहिलो कोभिड अस्पताल संचालनमा ल्याएसंगै कोभिडको उपचारमा बिभिन्न प्याकेजहरुका साथै समाजिक विकास मन्त्रालयसंगको सम्झौता पछि लक्षण भएका कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै आएको छ ।

हाल आएर आर टि पिसिआर ल्याबको संचालनले कोरोनाको संक्रमितको उपचारमा मात्र होइन्, अन्य बिरामीकोहरुको उपचारमा समेत सहजता प्रदान हुने अस्पतालका अस्पताल निर्देशक तथा कोभिड—१९ म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजन रंजित राज बस्नेतले बताए ।

अस्पतालले पिसिआर जाँचको लागि ल्याबमा गई स्वाबको नमुना दिन सकिने अथवा घरबाटै स्वाब संकलन गर्न (होम सेम्पलेङ) सकिने व्यावस्था पनि मिलाएको छ ।