ब्लाष्टखबर । धरान उपमहानगरपालिकाकाे प्रङ्गडबाट विश्व पर्यटन दिवसको लोगोसहितको बेलुन उडाएर धरानमा विश्व पर्यटन दिवस मनाइएकाे छ । 

सेप्टेम्बर २७ मनाइने विश्व पर्यटन दिवशकाे अवसरमा आज सेछ ट्राभलिङ धरानले संक्षिप्त कार्यक्रमकाे आयोजना गरेकाे थियाे । उक्त कार्यक्रममा उपमहानगरपालिकाका नगरप्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी (सुबेदी)ले संयुक्त रुपमा विश्व पर्यटन दिवसको लोगोसहितको बेलुन उडाएर  ४१ औं विश्व पर्यटन दिवस मनाइएकाे हाे ।

काेराेना भाइरसकाे महामारीका कारण अघिल्ला वर्षहरूमा झै भव्य रूपमा मनाउन नसकिएकाे भएपनि बेलुनमा विश्व पर्यटन दिवसको लोगोसहितको झण्डा उडाएर यस पटकको विश्व पर्यटन दिवस मनाएकाे सेछ ट्राभलिङकी प्रोपाइटर एलिना मगरले बताएकी छिन् । उनले आजकाे दिन पर्यटनकर्मीकालागी विशेष भएकाेले समय अनुकुलतालाई मध्यनजर गरी संक्षिप्त कार्यक्रमकाे आयाेजना गरिएकाे जनाउँदै पर्यटनकर्मी बेलुन जसरी उडेर उचाइ लिन चाहान्छन् भन्ने सन्देश दिन खोजेकाे बताएकी छिन् ।

कार्यक्रममा नगर प्रमुख राईले काेराेना महामारीले पर्यटन क्षेत्रमा ठुलाे असर  गरेकाे बताउँदै उपमहानगरमा पर्यटन विकासका लागि धेरै कामहरू भइरहकाे समेत जानकारी गराएका छन्  ।