विराटनगर/ प्रदेश १ मा कोरोना परीक्षण गर्ने किट अभाव भएको छ । प्रदेशका विभिन्न पाँच ठाउँमा रहेको ल्यावमा कोरोना परीक्षण किट अभाव भएको हो ।

अहिले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य ल्याव, कोशी अस्पताल, धरानस्थित बीपी कोराइला विज्ञान प्रतिष्ठान, झापाको मेची अस्पताल र कन्काई पीसीआर प्रयोगशालामा कोरोनाको परीक्षण हुँदै आएको छ । उक्त ल्यावहरूमा अहिले कोरोना परीक्षण किट अभाव देखिएको हो । पीसीआरबाट कोरोना भाइरस भए–नभएको पत्ता लगाउन आवश्यक पर्ने किटको अभाव भएको प्रदेश जनस्वास्थ्य ल्याव विराटनगरका प्रमुख जगेन्द्र यादवले जानकारी दिए ।

अहिले ३–४ दिनसम्मको लागि परीक्षण गर्नसक्ने मात्र किट स्टकमा रहेको उनले बताए । ‘मेची अस्पताल र धरानस्थित बीपी प्रतिष्ठानमा किट सकिएपछि हिजो आइतबार मात्र ३–३ सयको दरले किट प्रदेश जनस्वास्थ्य ल्यावबाट लिएर जानुभएको छ’ जनस्वास्थ्य प्रमुख यादवले भने, ‘अब हामीसँग पनि स्टकमा २ हजारदेखि २ हजार ५ सय मात्र रहेको छ ।’ सरकारले दुई दिनभित्रमा कोरोना परीक्षण गर्ने किट ल्याउन नसके परीक्षण रोकिन सक्ने खतरा बढेर गएको छ ।

अहिले दैनिक पाँचवटा ल्यावबाट १ हजारको सङ्ख्यामा परीक्षण हुने गरेको छ । ‘यही अनुपातले परीक्षण हुँदा अब हामीसँग स्टकमा राखेको किटले २ दिन मात्र पुग्नसक्छ’ जनस्वास्थ्य प्रमुख यादवले भने, ‘कोशी अस्पतालको लागि ३ सय किट राखिदिएको छ । हामीले छुट्याइदिएको किट भोलि (मङ्गलबार) लान सक्छन् ।’

एउटा किटले एक जनाको मात्र परीक्षण गर्न सकिन्छ । अहिले सबैभन्दा बढी धरानस्थित बीपी प्रतिष्ठानमा परीक्षण बढी हुने गरेको छ । सोमबार बीपीमा ३ सय ६५ जनाको परीक्षण भएको छ । बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले पीसीआर परीक्षण गर्ने किट अभाव हुन थालेको बताए । ‘अहिले किट अभाव हुन थालेको छ’ उनले भने, ‘किट अभाव भएको स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारलाई जानकारी गराएका छौं ।’

यस्तै सोमबार विराटनगरस्थित कोशी अस्पतालमा २ सय २१, प्रदेश जनस्वास्थ्य ल्यावमा ३ सय ६२, मेची अस्पताल झापामा २८ गरी ९ सय ९७ जनाको परीक्षण गरिएकोमध्ये १ सय १९ जनाको पोजेटिभ र ८ सय ५७ जनाको नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । १ असोजमा ९५ झापाको कन्काई पीसीआर प्रयोगशालामा ९४ जनाको परीक्षण गरेको थियो । किट अभावले आइतबार र सोमबार झापाको कनकाइ पिसिआर प्रयोगशालाले परीक्षण भएको छैन । प्रदेश जनस्वास्थ्य ल्यावबाट आइतबार साँझ ३ सय किट लगेपछि मङ्गलबारदेखि परीक्षण हुने बताइएको छ ।

सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ९३ पुगेको छ । हालसम्म २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा ५६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जसमध्ये १२ जना प्रदेश १ बाहिर र ४४ जना प्रदेश प्रदेश १ का रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।