इटहरी/ धेरैलाई लागेका होला कोरोना सङ्क्रमण देखिएपछि आइसोलेसनमा बसेका बिरामी मानसिक तनावमा होलान्, त्रसित होलान् । परिवारमा चिन्ता होला । तर, समाजमा चिनिएका इटहरीका केही कोरोना सङ्क्रमितहरू भने होम आइसोलेसनमै टिकटक बनाएर नाचेर, गाएर दिन बिताइरहेका छन् ।

उनीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि क्वारेण्टिनबाट आइसोलेसनमा आएदेखि नै उनीहरू यसरी रमाइरहेका छन् । इटहरीका सञ्चार उद्यमी समिर कार्की अहिले घरमै परिवारसँग टिकटकमा रमाइरहेका छन् । केही दिनअघि समिरको परिवारका सबैमा कोरोना सङ्क्रमण देखिएको थियो । आफूलाई मन भुलाउने माध्यम नै टिकटक भएको उनी सुनाउँछन् । ‘दिनभरि घरमा बस्दा–बस्दा दिक्क लाग्छ, रमाइलो गर्ने माध्यम यही टिकटक भएको छ’ –उनले भने ।

सङ्क्रमणपछि होम आइसोलेसनमा रहेका समिर भन्छन्, ‘दिन कटाउन अहिले टिकटक बनाएर नाचेर, गाएर रमाइलो गरिरहेको छु ।’ सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितहरू मानसिक तनावमा हुने र भरसक रोग लुकाउने प्रयासमा हुन्छन् । तर, समिर भने आफू सङ्क्रमित भए पनि समाजमा सकारात्मक सन्देश दिन टिकटक तथा सामाजिक सञ्जालमा रमाइरहेको बताउँछन् ।

समिरको श्रीमती कञ्चन थापा भन्छिन्, ‘मानसिक तनाव लिनुभन्दा सामाजिक सञ्जाल र टिकटकमा रमाउने गरेका छौं ।’ उनी कोरोनालाई जित्न उच्च मनोबल र कोरोना परास्त गर्न टिकटक बनाइरहेको बताउँछिन् । परिवारजन, आफन्त र समाजमा कोरोनाको त्रास बढिरहे पनि समिरका परिवारका सङ्क्रमितहरू भने उच्च आत्मबलसहित रमाइरहेका छन् । ‘श्रीमान् र परिवारसँग अहिले रमाइलो गरेर कोरोनासँग लड्दै आएको छु’–उनले भनिन् ।

कोरोना सङ्क्रमित अर्को जोडी इटहरी–२० तरहराकी वडा कार्यालयकी कर्मचारी सुनिता राई र श्रीमान् राजुबाबु ढकालले पनि अहिले टिकटकमा रमाइरहेको भिडियो सार्वजनिक गरिरहेका छन् । अहिले दैनिक टिकटक बनाएर रमाइलो गरिरहेको ढकाल बताउँछन् । ‘नहुनु सङ्क्रमित भइहालियो अहिले रमाउँदै कोरोना जित्नुको विकल्प रहेन’–उनी भन्छन् । समाजमा कोरोना सङ्क्रमितलाई हेर्ने नजर परिवर्तन गर्दै सहज रूपमा लिए कोरोना जित्न सकिने उनी बताउँछन् । मानसिक तनाव लिनुभन्दा रमाइलो र सामाजिक सञ्जालमा व्यस्त हुँदै आएको ढकाल बताउँछन् । कोरोना सङ्क्रमितलाई हेलाभन्दा माया गरेर अगाडि बढ्न उनको आग्रह छ ।

अरू बेला पनि टिकटक बनाइरहने सुनिता राई भन्छिन्, ‘कोरोनालाई सहज जित्न हामी घरमै परिवारसँग रमाइरहेका छौं ।’ तनावमा रहनुभन्दा बरु आत्मबलका साथ सबैलाई प्रेरणा दिने गरी टिकटकमा रमाइरहेको राईले बताइन् । परिवार र समाजमा कोरोना सङ्क्रमणबाट फैलिएको त्रास मेटाउन र आफू स्वस्थ रहन यसरी टिकटक र भिडियो बनाएको राईको भनाइ छ ।