विराटनगर / मोरङको उर्लाबारी – ४ थापाडाँगीमा दलित बालिकालाइ पानी लिन घर भित्र पसेकाे निउँमा निर्घात कुटपिट भएकाे छ ।

छिमेकी नन्नदाल श्रेष्ठको घरमा आइस जमेको पानी लिन पसेकी १२ वर्षीया बालिका फुलसरी मंग्राती (सार्की) लाई निर्घात कुटपिट भएकाे हाे ।

फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र २३ वर्षिय छोरा अम्बिरले २२ भदौमा कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । ‘६ वर्षिय नातिनी नुकुर लडेर चोट लागेको थियो । घाउ सेक्न फ्रिजमा जमेको आइस घरमा नभएपछि फुलसरीलाई ल्याउन छिमेकीको घरमा पठाएको थिएँ,’ दुर्गाकुमारीले भनिन ।

घरभित्र दलीत पसेको भन्दै अबोध बालिकामाथि परिवारैले निर्घात कुटपिट गरेको उनले बताइन् । ‘नानी कराएको सुनेपछि छुट्याउन छिमेकीको घरमा पुगेकी थिएँ । यसरी सानो बालिकालाई कुटपिट गर्नु हुदैन भन्दै छुट्याउन पुग्दा म माथि पनि निर्मलाले लछारपसार गरि कुटपिट गरिन्रेर ।’ दुर्गाकुमारीले भनिन् ।

कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम छ । दुई महिना अगाडी पनि श्रेष्ठ परिवारले ६ वर्षको नातिनी घर भित्र पसेको भन्दै कुटपिट गरेका थिए । ‘छिमेकीमा बस्दा सानो कुरालाई किन झगडा गर्नु भन्दै त्यसबेला चुपचाप बसेका थियौ,’ उनले भनिन्, ‘अहिले आएर पुन बिगतको घटना दोहोरिएको छ ।’ फुलसरीका आमाबुबा बेपत्ता भएपछि दुर्गाले नै आश्रय दिइरहेकी छिन् ।

जातीय विभेद गरेर कुटपिट गरेको भन्दै दुर्गाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएकी छिन् । जाहेरी परेपछि प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले २३ वर्षय अम्बिर श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका छोरा हुन् । इप्रका उर्लाबारीका प्रमुख इस्पेक्टर सुवास राईले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । यता श्रेष्ठ परिवारले श्राद्ध भएकोले छिमेकी बालिका घरभित्र पसेकोले भनाभन मात्र भएको दाबी गरेका छन् ।