धरान । बिहार राज्यको कटिहार जिल्लाको एक गाउँमा एक महिलालाई सामूहिक बलात्कार गरी महिलाका एक युवक साथीको यौनाङ्ग जलाएको घटना बाहिर आएको छ ।

घटना कटिहार जिल्लाको डण्डखोरा थाना क्षेत्रको केलबाडीमा भएको हो । केलाबाडी पञ्चायतले युवक र महिलाको अवैध सम्बन्ध भएको भन्दै महिलालाई सामूहिक बलात्कार गरी युवकको यौनाङ्ग जलाइदिएको घटना सार्वजनिक भएको हो । महिला भने सोही गाउँको रहेको बताइन्छ भने युवक अन्यत्रबाट महिलालाई भेट्नका लागि आएका थिए । युवकको कपाल खौरिएर चारदिनसम्म खुट्टामा नेल लगाएर बन्धक बनाएको पीडित युवकले जानकारी दिएको दी वायरले लेखेको छ ।

ती युवाका अनुसार कपाल खौरिएर गाउँभरि घुमाउँदै बेइज्जत गरेर चार दिनसम्म जनावरजस्तो हर्कत गरेका छन् । यो घटना सेप्टेम्बर १ तारिखको हो । उनले पञ्चायतले नै महिला र आफूलाई नियन्त्रणमा लिएर ज्यादती गरेको आरोप लगाएका छन् । उनले भनेका छन्,–‘गाउँबासीले सामूहिक बलात्कार गर्दै उसको भिडियोसमेत बनाएँ । हामी दुवैलाई नाङ्गो बनाएर तात्तिएको फलामले यौनाङ्गमा डामिदिएँ ।’

स्थानीय मिडियालाई उदृत गर्दै युवकको आधा कपाल खौरिएर दुवैलाई जनावरलाई बाध्ने नेलले खुट्टामा बाँधिदिएको उल्लेख गरेको छ । चारदिनसम्म बाँधेपछि पनि गाउँबासीले आफूसँग दुई लाख २५ हजार रुपैयाँ माग गरेका थिए । तर, अन्तिममा पीडित युवककै परिवारले ५० हजार रुपैयाँ दिएर छुटाएका थिए । यो घटना सामाजिक सञ्जालहरूमा भाइरल बनेको थियो ।

अहिले युवककाे कटिहारको एक अस्पतालमा उपचार भइरहेको छ । हालसम्म पीडित परिवारले प्रहरीमा कुनै पनि उजुरी दर्ता गराएका छैनन् । तर, पनि पीडित युवकले प्रहरीलाई सुरक्षाको माग गरेको बताइन्छ । भाइरल बनेको भिडियोलाई आधार मान्दै कटिहार प्रहरीका एसपी हरिमोहन शुक्लाले फोटोमार्फत अपराधीको पहिचान गर्ने काम भइरहेको बताए । दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने उनले बताए ।