धरान । भारतको उत्तरपूर्वी राज्य असममा एक चिकित्सकले आफ्नो घरमा काम गर्नका लागि राखेका १२ वर्षीय बालकलाई उम्लिएको पानी हालेर फरार भएका छन् ।

चिकित्सक र उनको पत्नीले सुतिरहेको समयमा बालकलाई उम्लिएको पानी हालेर गम्भीर घाइते बनाएका हुन् । बालक उनीहरूको घरमा सहयोगी भूमिकामा काम गर्दै आएका थिए । यो घटनापछि कलेजका प्रिन्सिपलसमेत रहेका डाक्टर र उनका पत्नीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको छ । हाल दुवै फरार छन् ।

असमको डिब्रुगढ जिल्लाको यो घटनामा प्रहरीले बुधबारदेखि अनुसन्धान थालेको छ । असम मेडिकल कलेज तथा अस्पतालबाट अवकास प्राप्त डाक्टर सिद्धिप्रसाद देउरी र उनको पत्नी मञ्जुला मोरनविरुद्ध उजुरी दिइएको हो । मञ्जु कलेजको प्रिन्सिपलसमेत हुन् । प्रहरीले बालकमाथि ज्यादती भएकाले आफूहरू गम्भीर भएर घटनामा लागेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला बाल कल्याण समितिकी सदस्य तथा सामाजिक कार्यकर्ता अर्पना बोराले २९ अगस्टमा अज्ञात स्रोतबाट भिडियो प्राप्त गरेपछि मात्रै घटनाबारे जानकारी भएको बताइन् । त्यसपछि मात्रै प्रहरमिा उजुरी गरेर बालकलाई बचाउन सफल भएको उनले बताइन् । डिब्रुगढका सहायक प्रहरी प्रमुख पद्मनाभ बरुवाले बालकको चाइल्ड केयर सेन्टरमा राखेर उपचार भइरहेको छ र बच्चाको बयान लिइसकिएको छ ।

ती दम्पतीमाथि बाल श्रम निषेध र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भएको छ । किनकि भारतमा पनि बाल श्रम लगाउन नपाइने प्रावधान छ । प्रहरीले दम्पती फरार रहेकाले खोजी कार्य जारी रहेको बताएको छ । बालकको आमाको निधन भइसकेको छ भने बुबा जोरहाटमा बस्दै आएका छन् । गत वर्षको अप्रिलमा बालकलाई काममा राखिएको थियो ।

यो घटनापछि बाल संरक्षण समूह र सामाजिक सङ्गठनले दम्पतीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । यसैबीच असम स्टेट कमिसन फर प्रोटक्सन अफ चाइल्ड राइट्सले यो घटनाको जाँच फास्ट ट्रयाक विधिबाट गर्दै दम्पतीविरुद्ध चारसिट फाइल तयार गर्न माग गरिएको छ । आयोगले डिब्रुगढ प्रहरीमा पत्राचार गर्दै दुई दिनभित्र एक्सन टेकन रिपोर्ट (एटीआर) उपलब्ध गराउन आग्रह गरिएको छ ।