विराटनगर / प्रहरीले कडाइ गर्न थालेपछि तस्करीमा संलग्न गिरोहले अनेक जुक्ति निकालेर प्रतिबन्धित गाँजाको तस्करी गर्ने गरेको पाइएको छ ।

प्रहरीको आँखा छल्न गाँजा तस्करीकै लागि ट्रयाक्टरको डाला भित्र ‘फल्स बेस ’ बनाएर भारत तर्फ गाँजा तस्करी हुने गरेको पाइएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट जोगबनीले विशेष सुराकीको आधारमा सोमबार राती नेपालबाट भारतर्फ लैजान लागेको ठूलो परिमाणको गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गर्दा विराटनगर–१७ आईसीपी रोडबाट सशस्त्र प्रहरीले १४६ केजी गाँजा बरामद गरि प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

को २ त ६०५७ नम्बरको ट्रयाक्टरमा सुरक्षित र व्यवस्थित तवरले गाँजा लोड गरेर बुधनगर हुँदै भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रण लिइएको हो । ‘ट्याक्टरको ढाला मुनी छुट्टै किसिमको गाँजाको पोका बनाएर राखिने खालको फल्स बेस बनाएको पाइएको छ,’ सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भने, ‘त्यही ट्रलीको फल्स बेसमा लुकाएर अवैध रूपमा गाँजा भारततर्फ लैजान लागेको क्रममा सशस्त्र प्रहरीले गाजा बरामद गर्न सफल भएको हो ।’

प्रहरीले तस्करीमा संलग्न सुनसरीको गढी गाउँपालिका – २ का ३४ वर्षिय सुरजकुमार मेहतालई पनि पक्राउ गरेको छ । पक्राउ परेका चालकलाई लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गर्ने प्रहरीले जनाएको छ । मेहताले १० हजार रुपैयाँ लिएर उनले तस्करीको गाँजा भारत पु¥याउने जिम्मा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सशस्त्र प्रहरीले यति धेरै परिणाममा गाँजा बरामद गरेको प्रदेशकै पहिलो घटना भएको जनाएको छ । पक्राउ परेका चालक मेहताले भने आफूले विराटनगरको शनिमन्दिरबाट ट्रयाक्टर ‘रिसिभ’ गरेको बताएका छन् । उनले गाँजा कसको र कहाँ लैजानु पर्ने भन्ने नखुलाएको सशस्त्रले जनाएको छ । धनकुटामा अवैध रुपमा उत्पादन हुँदै आएको गाँजा निषेधाज्ञाको समयमा चलाखपूर्ण हिसाबले भारत कटाउन खोजिएको सशस्त्रको भनाइ छ ।

नेपालमा प्रतिकिलोग्राम १० हजार रुपैयाँमा गाँजाको किनबेच हुने प्रहरीको भनाइ छ । त्यसैलाई भारत पु¥याउँदा प्रतिकिलो २० हजारभन्दा बढी पर्ने भएकाले नेपालमा उत्पादित गाँजा अवैध रुपमा सुरक्षाकर्मीलाई छल्दै सीमा कटाउने गरिएको छ ।