भद्रपुर/ झापा प्रहरीले सोमबार दिउँसो ७ लाख ७६ हजार मूल्य बराबरको ओरियन्स कम्पनीका सामानसहित ६ जनालाई पक्राउ गरेको छ ।

सामानसहित पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १८ बस्ने २८ वर्षीय नगेन्द्र चौधरी , सोही ठाउँका २६ वर्षीय शिवराम चौधरी, मोरङ ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षीय सुरजकुमार चौधरी, सोही गाउँपालिकाका ७ बस्ने २५ वर्षीय दीपक सिंह , सोही गाउँपालिका ६ बस्ने २५ वर्षीय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षीय सुनिल विश्वास रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सामान ओसारपसारमा प्रयोग गरेका तीन वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । सीमा नाकाबाट भित्राइएको ओरियन्स कम्पनी उल्लेखित वीटग्रास डायट्री सप्लिमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा इलाका प्रहरी कार्यालय झिलझिले बरामद गरेको उनले बताए ।

झापाबाट सो सामान मोरङ लैजाने क्रममा विशेष सूचनाको आधारमा प्रहरीले पूर्व पश्चिम राजमार्गबाट बरामद गरेको उनले बताए । उनीहरूले सामान बोक्न प्रयोग गरेको को ३३ प ३०८, को १७ प २८५६ नम्बरको मोटरसाइकल र को ३४ प ५६८५ नम्बरको स्कुटर समेत बरामद गरेको जनाएका छन् ।

प्रहरी कार्यालय झापाले अहिलेसम्म भन्सार छलेर भित्राइएका ५० लाख मूल्य बराबरको ओरियन्स कम्पनी उल्लेखित विभिन्न सामान बरामद गरिएको जिल्लाका एसपी कृष्ण प्रसाद कोइरालाले बताए । पछिल्लो समय यसको धन्दा मौलाएर गएपछि प्रहरीले सकृयता देखाएको उनको भनाइ छ ।

अवैध रुपमा भन्सार छलेर भारतीय ओरियन्स कम्पनीका सामान नेटवर्किङको माध्यमबाट नेपाली बजारमा ल्याउने गरेको सुराक पाएपछि झापा प्रहरी यसको नियन्त्रणमा जुटेका छन् । नेपाली युवा युवतीलाई आर्थिक प्रलोभन देखाएर भारतीय ओरियन्स कम्पनीका प्रतिनिधिले नेटवर्किङ मार्फत यस्तो धन्दा नेपालमा चलाउँदै आइरहेको प्रहरीको निश्कर्ष छ ।