• भोजराज श्रेष्ठ/धरान

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उचाइ प्राप्त गर्ने नेता आधुनिक भारतमा सायदै हुुनेछन् ।

उनको राजनीतिक यात्रा ३१ अगस्टमा आएर पूर्णविराम लागेको छ । दिल्लीस्थित एक सैनिक अस्पतालमा उनको भौतिक शरीरले सधैका लागि यो संसारबाट बिदा लिइसकेको छ । जो १० अगस्टका दिन मस्तिष्क सर्जरीका लागि अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि कोरोना भाइरसको परीक्षण पनि गरिएको थियो । जसमा उनलाई पोजेटिभ देखाएको थियो ।

उक्त कुरा प्रणवले ट्वीटमार्फत आमजनतालाई सूचित गरेका थिए । पाँच दशकभन्दा बढी राजनीतिक जीवनमा उनले भलै प्रधानमन्त्रीको पद प्राप्त गर्न सकेनन् । तर, यो पदले उनलाई लोभ्याइरह्यो । उनले सबै कुरा प्राप्त गरे, सिवाय प्रधानमन्त्री ।

सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति पदमा आसिन प्रणव राजनीतिज्ञ मात्रै थिएनन् । उनी अर्थशास्त्रीको रूपमा पनि चिनिन्थे । जीवनको सुरुवाती कालमा शिक्षक पनि रहेका थिए भने केही समय पत्रकार पनि ।

रक्षामन्त्री हुँदै विदेश तथा अर्थमन्त्रीको भूमिका पनि देखिए । भारतीय बैंकको समितिदेखि उनी विश्व बैंकको बोर्ड सदस्यका रूपमा पनि काम गरे । उनी लोकसभाको अध्यक्ष पदमा पनि रहेका थिए । धेरै सरकारी समितिमा रहेर काम गरे ।

प्रधानमन्त्री नबनेकोमा दुःख

प्रणवको व्यक्तिगत विवरण केलाउने हो भने उनले सबैसबै प्राप्त गरेको देखिन्छ । तर, प्रधानमन्त्री पदमा उनी आसिन हुन सकेनन् । त्यसो त, सन् १९८४ र २००४ मा प्रधानमन्त्रीका दाबेदारका रूपमा प्रस्तुत भएका थिए । त्यो बेला इन्दिरा गान्धी थिए । तर, उनले यो पदको हकदार कहिल्यै बनेनन् । भारतीय जनता पार्टी (बिजेपी) का लालकृष्ण अडवाणी जस्तै उनी पनि कहिल्यै प्रधानमन्त्री पदका याेग्य बनेनन् । 

उनी प्रधानमन्त्री बन्न नसकेकोमा छोरी शर्मिष्ठाले सन् २०१५ मा बुबालाई प्रधानमन्त्री बन्न नसकेकोमा एकदमै दुःख महसुस गरेकाे उल्लेख गरेकी छिन् । तर, त्याे बेलामा बुबा पार्टीको बरिष्ठ नेता भएका कारण खुलेर कुरा राख्न सक्नु भएन। पार्टीका विभिन्न गुटले प्रणवलाई प्रधानमन्त्री बनाउनका लागि इच्छा गरेकै हुन् । तर, गान्धी परिवारको विश्वासपात्र बन्न नसकेका कारण उनलाई प्रधानमन्त्री पदका लागि कहिल्यै सिफारिस गरेनन् ।

गत वर्ष बिजेपीले प्रणवलाई भारत रत्न अवार्डबाट सम्मानित गरेको थियो । बिजेपीले भारत रत्न अवार्ड दिएर गान्धी परिवारको नजिक भएर बसेका कारण कुनै पनि कुरा प्राप्त नगरेको संकेत गरेको थियो ।

उनको जन्म १९३५ डिसेम्बर ११ मा भएको थियो । पश्चिम बंगालको सानो गाउँ मिराटीमा जन्मिएका उनी सुरुवाती दिनहरू शिक्षकको रूपमा बिताएका थिए । उनको बुबा कांग्रेस पार्टीका स्थानीय नेता थिए । उनले इतिहास तथा राजनीति विज्ञानमा स्नातकोत्तर गरेका थिए । त्यस्तै कोलकत्ता विश्वविद्यालयबाट उनले कानुनमा डिग्री प्राप्त गरेका थिए । जतिबेला उनी शिक्षकका रूपमा जीवन सुरुवात गरे । त्यसपछिका दिनमा उनी पत्रकारको भूमिकामा पनि देखिए ।

३४ वर्षको उमेरमा सन् १९९६ देखि राजनीति यात्रा थालेका उनी पहिलो पटक राज्यसभा सदस्य बनेका थिए । इन्दिरा गान्धीको छत्रछायामा राजनीतिक सुरु गरेका कारण पनि उनले चाँडै उचाइ प्राप्त गरेका थिए । तर, जब १९८४ मा इन्दिरा गान्धीको हत्या भयो, त्यसपछि प्रधानमन्त्री बनेका राजीव गान्धीले प्रणवलाई मन्त्रिमण्डलमा कुनै स्थान दिएनन् ।

उनले आफ्नो पुस्तक ‘द टर्बुलेन्ट इयर्स १९८०–१९९६’ मा त्यो सयममा राजीवको मन्त्रिमण्डलमा मलाई अटाइन्न भन्ने विषय मेरो दिमागमै थिएन । मैले कुनै अफवाह पनि सुनेको थिइन, जब म मन्त्रिमण्डलमा अटाइन भन्ने थाहा भयो, त्यो बेला म स्तब्ध भए, मलाई विश्वास नै भएन ।

खराब समय

प्रणवको राजनीतिक यात्रा तब खराब समय चल्यो, जब उनलाई पार्टीले ६ वर्षसम्म निश्कासन गरिदियो । उनले दिएको एक अन्तर्वार्ताकै कारण पार्टीले निश्कासन गरेको थियो । उनले आफ्नो किताबमा लेख्छन्, ‘उहाँले (राजीव गान्धी) पनि गल्ती गर्नुभएको थियो, मैले पनि । उहाँले अर्काको कुरा सुन्नुभयो, मलाई पनि धेरैले कान भरे । त्यो समय मैले आफ्नो निराशालाइ नियन्त्रणमा राख्न सकिन ।’

पार्टीमा पुनः १९८८ मा फर्किए । सन् २००४ को आमचुनावमा कांग्रेसले सरकार बनायो । जतिखेर सोनिया गान्धीको नाम प्रधानमन्त्रीका लागि प्रस्ताव गरियो । तर, उनले सिधै अस्वीकार गरेपछि प्रणवको नाम दाबेदारीका रूपमा हेरियो । उनले आफ्नो पुस्तक ‘द कोएलिशन इयर्स १९९५–२०१२’ मा लेखेका छन्, ‘आम अपेक्षा सोनिया गान्धीप्रति थियो, तर उहाँले इन्कार गरिदिएपछि मेरो नाम नै अग्रपंक्तिमा आउँला भन्ने विश्वास थियो ।’

त्यस समय प्रधानमन्त्री मनमोहन सिंहलाई बनाइयो । उनी रक्षा तथा अर्थमन्त्रीका रूपमा रहे । जब उनी राष्ट्रपति बने । त्यही कालमा सन् २०१४ को आमचुनावमा बिजेपीले सत्ता प्राप्त गर्दै मोदी सरकार आयो । जुन सरकारसँग पनि प्रणवको सम्बन्ध एकदमै राम्रो थियो । जीवनका अन्तिम दिनसम्म उनी एउटा सच्चा लोकतन्त्रवादी बने ।

(स्पष्टीकरणः बीबीसी हिन्दी सेवामा प्राप्त सामग्रीका आधारमा यो सामग्री अनुवाद गरिएको हो । त्यहाँ भएका कतिपय कुराहरूलाई यहाँ अटाइएको छैन–सं)