विराटनगर/ विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरि बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।
सञ्चालनमा ल्याइएको न्यूरोको कोभिड अस्पतालमा जनरलका ४२, आईसीयूका ७ र भेन्टिलेटरका २ शैया रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । ‘सामुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमित राखेर उपचार गर्ने अस्पतालको शैया अभाव भइरहेको छ,’ उनले भने, ‘निजी स्तरबाट पनि राज्यसलाई सहयोग गर्दै संक्रमण रोकथाम र नियन्त्रण गर्न हामीले कोभिड अस्पताल संचालनमा ल्याएका हौं ।’
लक्षणसहितका संक्रमितहरुले उपचार अभावमा छटपटाई राख्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सञ्चालनमा ल्याउनु परेको उनको भनाई छ । कोरोना संक्रमितको व्यवस्थापन र उपचार सरकार एक्लैले मात्रै संभव नभएको भट्टराईले बताए ।
कोरोना संक्रमण भएको अवस्थामा रकम बुझाएर सुविधा सम्पन्न होटल आईसोलेशनमा बस्नेको संख्या बढेसँगै रकम बुझाएरै उपचार गराउनेको संख्यालाई मध्यनजर गर्दै विराटनगरमा यो दोस्रो अस्पताल सञ्चालनमा आएको हो ।
न्यूरो भन्दा अगाडी नै विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले आईसोलेशन सञ्चालनमा आएको थियो । न्यूरो अस्पतालले कोभिड क्राईसिस मेनेजमेन्ट समिति अस्पतालस्तरमै गठन भने सबैभन्दा पहिला गरेको हो । सुविधासम्पन्न न्यूरोको कोभिड अस्पताल बिहीबार नै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरे । उनले निजी क्षेत्रबाट कोभिड–१९ संक्रमित नागरिकको उपचार सुरु भएसँगै यसले समाजको दैनिकीलाई सहजीकरण गर्ने बताए ।