धरान । धरानका युवाहरू लागूऔषधसहित मोरङको केराबारी गाउँपालिकाबाट सोमबार साँझ पक्राउ परेका छन् ।
लागूऔषध कारोबारमा संलग्न भएको आशङ्कामा जाँच गर्दा धरानका दुई युवासहित ३ जनालाई टिडीजेसिक ९६ एम्पुलसहित पक्राउ गरिएको छ । धरान–८ का अभियान राई र उत्सव लिम्बूसहित केराबारी–५ का रूकेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए ।
‘लकडाउनका बेला भित्री सडक प्रयोग गरेर कारोबार गरेको देखियो’–उनले फोन सम्पर्कमा भने, ‘प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ । अझै पक्राउ पर्ने सम्भावना छ ।’ उनका अनुसार डाइजेल्याब ९४ एम्पुल, एभिल ९६ एम्पुल, लुपिजेसिक ९६ एम्पुल बरामद गरिएको छ । उनीहरूविरुद्ध लागूऔषध कारोबार ऐन अनुसार म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर ढकालले बताए ।
पछिल्लो चार दिनयता मोरङको केराबारीबाट प्रहरीले ३ केजी २५ ग्राम गाँजासमेत बरामद गर्न सफल भएको छ । प्रहरीले गाँजा कारोबारमा संलग्न ५ जनालाई नियन्त्रणमा पनि लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार भदौ ४ गते केराबारी–१० बाट शङ्कास्पद हिँडिरहेको अवस्थामा सुमन कार्की, सुजन विक, आशिष दास र भूवन मण्डललाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ केजी २५ ग्राम गाँजा बरामद गरिएको छ ।
उनीहरूले धनकुटा क्षेत्रबाट गाँजा लिएर आएको प्रहरीले अनुमान गरेको छ । त्यस्तै आइतबार अर्थात् भदौ ७ गते पनि २ केजी गाँजासहित केराबारी–६ बाट भरत राईलाई पक्राउ गरेको छ । पछिल्लो चार दिनमा ३ केजी २५ ग्राम गाँजा बरामद गर्न सफल भएको इप्रका बेलबारीका प्रमुख इन्स्पेक्टर ढकालले जानकारी दिए ।
लगूऔषध भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँचको क्रममा बरामद गर्न सफल भएको हो । लकडाउनको बेला मुख्य राजमार्ग प्रयोग नगरी भित्री सडकबाट कारोबारका लागि हिँड्ने गरेको खुलेको छ ।