धनकुटा/ तराईका विभिन्न बजारबाट धनकुटालगायत कोशी पहाडी जिल्लाहरूमा सामान बिक्री गर्न आउने व्यापारीहरूबाट भेडेटार प्रहरीले नगद असुल्ने गरेको आरोप लागेको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा स्थानीय पत्रकारहरू र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूबीच कोरोना भाइरसका कारण पछिल्लो समयमा जारी लकडाउनको प्रभावको विषयमा भएको छलफल कार्यक्रममा यस्तो आरोप लगाइएको हो । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका पूर्वअध्यक्ष मोहन बान्तावाले लकडाउनको अवधिमा भेडेटार प्रहरीले तराईका जिल्लाहरूबाट सामान बिक्री गर्न आउने सवारी साधनहरू र व्यापारीबाट रकम असुुल्ने गरेको बताए ।
बान्तावाले तराईका जिल्लाबाट धनकुटा, हिलेलगायत पहाडी जिल्लामा लुकिछिपी स्वास्थ्य सामग्री ल्याएको भन्दै महँगो दाममा अन्य सामग्री बिक्री गर्न ल्याउने क्रममा प्रहरीले नगद असुल्ने गरेको जानकारी गराए । उनले तराईका जिल्लाहरूबाट बिहानीपख भागेर आउने र भेडेटारबाट प्रहरीको मिलेमतोमा धनकुटा प्रवेश गरेर पहाडी बजारमा छिर्ने गरेको कारण कोरोना भाइरससमेत फैलिने खतरा बढेको दाबी गरे ।
नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जिल्ला सदरमुकाम धनकुटामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई शुक्रबार तराई झर्न नदिन प्रजिअ केशवप्रसाद विमलीलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले धनकुटामा कार्यरत कर्मचारीहरू हरेक शुक्रबार तराईमा रहेको आफ्नो घर झर्ने र आइतबार बिहान धनकुटा आउने क्रमले कोरोना भाइरसको सङ्क्रमण धनकुटामा बढ्ने खतरा भएकाले तत्काल रोक्न आग्रह गरेका हुन् ।
शहीदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य जाँच गर्दा न्यूनतम् स्वास्थ्य सुरक्षा सामग्री नलगाई लापरबाहीपूर्ण तरिकाले जाँच गर्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले स्वास्थ्य सुरक्षा सामग्री पीपीई लगाएर मात्र जाँच गर्न निर्देशन दिन प्रजिअ विमलीलाई आग्रहसमेत गरे । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाले तराईका जिल्लाहरूबाट विभिन्न बहाना बनाएर सामान बिक्री गर्न रातको समयमा व्यापारीहरू धनकुटा आउने गरेको औंल्याए । उनले २ दिनअघि धनकुटाको व्यस्त बजार हुलाकटोल र कोशी ग्यास चोकमा सामानसहितको गाडी र व्यापारीलाई पक्राउ गरेर प्रहरीमा बुझाएको जानकारी दिए । यसरी तराईका जिल्लाहरूमा दिन प्रतिदिन कोरोनाको सङ्क्रमण बढिरहँदा लुकिछिपी व्यापारी, कर्मचारीलगायत अन्य सर्वसाधारण जो कोही आउनु भनेको धनकुटाको लागि चुनौती भएको अध्यक्ष लामाले आंैल्याए ।
प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले सरकारी कामको सिलसिलामा कर्मचारी अन्य जिल्लामा जानेबाहेक अन्य काममा जान पूर्णरूपमा रोकेको बताए । धनकुटामा कार्यरत अधिकांश कर्मचारीको घर तराईका जिल्लाहरूमा भएकाले शुक्रबार घर जाने गरेका हुन् तर अब आइतबार आउँदा अनिवार्य क्वारेण्टिनमा बस्नुपर्ने प्रजिअ विमलीले बताए । उनले पहिलो कुरा, पास बन्द गरिएको हुँदा कर्मचारीले आफ्नो परिचय–पत्र देखाएर जिल्लाभित्र काम विशेषले हिँडडुल गर्न पाउने तर लकडाउनको अवधिमा भेडेटार काट्न नपाउने बताएका छन् ।
वरखगण सल्लेरी ब्यारेकका गणपति भगवान थापा मगरले कोरोना लागेकालाई समुदायबाट बहिष्कार गर्ने परिपाटी विकास हुँदै आएकाले त्यसो गर्न नहुने भन्दै पत्रकारहरूलाई भूमिका खेलिदिन आग्रह गरे । उनले नेपाली सेनालाई शुरु–शुरुमा कोरोनाको कारण कसैको मृत्यु भयो भने शव व्यवस्थापन गर्न चुनौती थियो तर अहिले विस्तारै हट्दै गएको पनि स्मरण गराए ।
त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले आफू मातहतका शहीदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सुरक्षा सामग्री लगाएरै काम गरिहेको दाबी गरे । तर एक जना स्वास्थ्यकर्मीले भने पीसीआर परीक्षण गर्नुपर्छ भन्दा नमानेको र स्थानीयले जबर्जस्ती गर्नुपर्छ भनेर दबाव दिएपछि मात्र पीसीआर गर्न मानेको भने स्वीकारे । पछि तिनै स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजेटिभ आएकाले सो क्षेत्रका जनप्रतिनिधिलगायत कन्ट्याक्ट ट्रेसिङका आधारमा ५८ जनाको पीसीआर टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको गुरागाईंले बताए ।
यता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले भेडेटार प्रहरीले लकडाउनको अवधिमा सामान बोक्ने गाडी र व्यापारीहरूबाट पैसा असुलेको विषयमा आफूले सत्य–तथ्य बुझ्ने बताए । जानकारी गराउने पत्रकारहरूलाई धन्यवाद दिँदै एसपी अधिकारीले भने, ‘लकडाउनका बेला विभिन्न बहाना बनाएर व्यापारीहरू स्वास्थ्य सामग्री बिक्री गर्ने भन्दै पनि आउने गरेका छन्, तर यस विषयमा के भएको हो, तत्काल भेडेटार प्रहरीसँग जानकारी लिनेछु ।’ छलफल कार्यक्रममा जिल्ला अस्पताल धनकुटाका प्रमुख पूजन विश्वकर्मा, सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गुल्म हेडक्वार्टर धनकुटाका प्रमुख रामचन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
छलफलपछि पत्रकार र सुरक्षा निकायका प्रमुखहरूले धनकुटा नगरपालिका वडा नं. ६ औद्योगिक ग्राममा रहेको क्वारेण्टिनको स्थलगत अवलोकन समेत गरेका थिए । सो अवसरमा धनकुटामा पनि दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने सम्भावना रहेकोले क्वारेण्टिनसँगै आइसोलेसन कक्षको व्यवस्थापनको विषयमा पनि सामूहिक छलफल भएको थियो ।