इटहरी । कोरोना महामारीका कारण आर्थिक अभाव झेलिरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियान थालेको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखाको सोमबार बसेको बैठकले महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरूले श्रमजीवी पत्रकारलाई निकाल्ने, दबावपूर्ण बिदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रूपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गरिएको हो ।

‘महामारीले गर्दा पत्रकारले सवैभन्दा बढी समस्या झेल्नु परेकाले पेशा जोगाउनै गाह्रो छ, अर्कातिर आर्थिक समस्या उत्तिकै छ,’ प्रेस युनियन जिल्ला अध्यक्ष पवन अधिकारीले भने, ‘पत्रकारकै मात्र कमाइबाट धानिएको धेरैको परिवारलाई समस्या भएपछि थोरै भए पनि राहत होस् भनेर हामीले फुड बैंक सुरु गरिएको हो ।’ उनका अनुसार सक्ने पत्रकार, ठूला सञ्चार गृह र पत्रकारिताको हकहितमा कार्यरत संस्थाबाट उपलब्ध भएको सामग्रीहरू नहुनेलाई निःशुल्क प्रदान गरिनेछ ।

फुड बैंक अभियान सञ्चालन एवम् व्यवस्थापन गर्नका लागि जिल्लाका अग्रज पत्रकार एवम प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका कृष्ण अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । ‘पत्रकारको आयको बाटो अवरुद्ध भएको छ तर पनि समाचार प्राप्त गर्ने र सम्प्रेषण गर्ने काम निरन्तर र अनिवार्य छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारको अवस्था अत्यन्तै जोखिम पूर्ण छ,’ अधिकारीले भने, ‘समस्यामा परेका पत्रकारलाई फुड बैंकमार्फत पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिनेछ ।’ पत्रकार निशान चौधरी, उषाकिरण घिमिरे, इकवल अहमद र विनय प्रधान समितिमा छन् ।

अहिलेको संकटका बेला जिल्लाभरका समस्यामा परेका सबै पत्रकारलाई समेट्ने लक्ष्य लिइएको छ । यसका लागि आवश्यक मापदण्ड बनाएर समितिले काम थालिसकेको फुड बैंक सञ्चालन तथा ब्यावस्थापन समिति संयोजक कृष्ण अधिकारीले बताए । ‘कुनै पत्रकारलाई कोरोना संक्रमण भएको खण्डमा निको नहुन्जेलसम्मका लागि उसको परिवारलाई आवश्यक पर्ने खाद्यान्न फुड बैंकले उपलब्ध गराउनेछ,’ उनले भने, ‘फुड बैंकबाट राहत ग्रहण गर्नेको परिचय गोप्य राखिनेछ ।’ पत्रकारको हितमा कार्यरत संस्थाले अप्ठ्यारोमा परेका पत्रकारलाई सहयोग गर्नु दायित्व हो । ‘कोरोना भाइरसबिरुद्धको अग्रमोर्चामा खटिएका पत्रकारप्रति सरकार चरम अनुदार भएपछि आफ्ना साथीको भोकको चिन्ताबाट मुक्त गर्न सक्दो कोशिस गरौं भनेर अभियान थालिएको हो,’–संयोजक अधिकारीले भने ।

जिल्लाको धरान, इटहरी, इनरुवा, झुम्का, दुहवी, बराहक्षेत्रलगायतका स्थानमा पत्रकार छरिएकाले गर्दा ती पत्रकारलाई खाद्य सामग्री वितरण गर्न पनि समितिले आवश्यक व्यवस्था गर्ने जानकारी दिइएको छ । प्रेस युनियनले अहिलेको संकटका बेला सम्पूर्ण पत्रकारिताको हकहितमा कार्यरत संस्थालाई साझा ढंगले कार्यक्रम लिएर अघि बढ्न पनि आग्रह गरेको छ । प्रेस युनियन सुनसरीले सुनसरी जिल्लाका पत्रकारहरूका लागि निःशुल्क कोरोना बिमाको ब्यवस्था गर्नुका साथै कोही पत्रकार बिरामी परे विराटनगरको नोबेल अस्पतालमा पचास प्रतिशत छुटमा उपचार दिने प्रबन्ध पनि मिलाइएको छ ।