विराटनगर । सहयोग संकलन गरि खरिद गरेको पिसिआर मेसिन कोशी अस्पतालको ल्याबलाई हस्तान्तरण गरिएको छ ।

समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा पिसिआर परीक्षणको दर बढाउन चन्दा संकलन गरेर भ्याट बाहेक २८ लाख रुपैयाँमा खरिद गरेको पिसिआर मेसिन सोमबार अस्पतालको ल्याबलाई हस्तान्तरण गरेको हो ।

नागरिक समाज, उद्योगी, व्यवसायी र जनप्रतिनधीले सहयोग संकलन गरि खरिद गरेको पिसिआर मेसिन प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरको उपस्थितमा महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगको न्युन मात्र स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहेको बेला महानगर प्रमुख भीम पराजुलीको अगुवाईमा पिसिआर मेसिन खरिद भएको हो । खरिद गरेको मेसिन जर्मन कम्पनीको रहेको बताइएको छ ।

२४ घण्टामा १ सय ५० जनाको परीक्षण गर्नेछ । कोशी अस्पताल विराटनगरको प्रयोगशाललामा उक्त मेसिन स्थापना गरिनेछ । पिसिआर मेसिन हस्तान्तरण भएपछि २–३ दिनभित्रमा सञ्चालनमा आउने र त्यसपछि महानगरको परीक्षण दर बढ्ने महानगरपालिकाले जनाएको छ ।

उपकरण खरिदको लागि कोशी अस्पतालको प्याथोलोजिष्टको डाक्टरको संयोजत्वमा समिति गठन भएको थियो । ‘विज्ञ समितिले दिएको सिफारिसको आधारमा यो पिसिआर मेसिन खरिद गरेको हो,’ प्रमुख पराजुलीले भने, ‘निजी क्षेत्र, नागरिक समाज सबैको साथ सहयोगले चाँडै मेसिन ल्याउन सफल भएका छौं ।’ उनका अनुसार चाँडै अर्को उपकरण पनि खरिद गर्ने योजना रहेको बताए ।

त्यसको लागि पनि निजी क्षेत्र उद्योगी, व्यवसायीहरु लागि परेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरले बताए । मेसिन खरिदको लागि महानगर प्रमुख पराजुलीले आफ्नो एक वर्षको सुविधा वापतको रकम ५ लाख रुपैयाँ प्रदान गरेका छन् । त्यसबाहेक उद्योगी व्ययवसायी दाताहरुले रकम जम्मा गरेर मेसिन खरिद गरिएको छ ।

संक्रमण बढीरहेको भएपनि आवश्यक मात्रामा परीक्षण नभएको र परीक्षणको रिपोर्ट ढिलो भएको गुनासो बढेपछि पिसिआर मेसिन खरिद गरेर हस्तान्तरण गरिएको हो ।

सहयोग समितिले पिसिआर मेसिन स्थापना गरिसकेपछि थप सहयोग जुटाएर आरएन एक्ट्राक्सन मेसिन पनि खरिद गर्ने योजना बनाएको छ । यो मेसिनले अटोमेटिक रुपमा काम गर्ने र स्याम्पलिङ छिटो गर्ने हुँदा परीक्षण बढ्ने अपेक्षा गरिएको छ ।