विराटनगर/ विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
विराटनगर –८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राती मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा ल्याएको एक घण्टा भित्रमा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । श्वासप्रश्वासमा एक्कासि समस्या भएपछि राती ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो । ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ अस्पतालका प्रमुख फिजिसियन डा. दिपक सिग्देलले भने,‘उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’ मृतक पुरुष अवकाश प्राप्त शिक्षक रहेको खुलेको छ ।
मृतक पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकका परिवारमा दुुई वर्षीया नाबालिकासहित अरु तीन जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका तीनै जना अहिले ‘होम आइसोलेसन’मा छन् ।
यो सँगै विराटनगरको कोशी अस्पतालको कोडिभ उपचार केन्द्रमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विराटनगरमा कोरोना संक्रमणको कारण हालसम्म मृत्यु हुने १ महिला सहित १० जना पुगेको छ । प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुने १७ जना पुगेका छन् । जसमध्ये १४ जना मोरङ र तीन जना सुनसरी धरानका रहेका छन् ।