इनरुवा/ सुनसरीमा अहिलेसम्मको कुल सङ्क्रमित सङ्ख्यामध्ये झण्डै ४४ प्रतिशत बिरामी निको भएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीले आइतबार बिहानसम्म प्राप्त रिपोर्टका आधारमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुनसरीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४ सय ३३ रहेको छ ।

१६ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएका ४ सय ३३ जनामध्ये १ सय ९० जना कोरोनाका बिरामी निको भएका छन् । कार्यालयका अनुसार २ सय ४३ जना उपचाररत छन् । उनीहरू सबैको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार जिल्लामा रहेको सङ्क्रमितकोे कुल सङ्ख्याको अनुपातमा ४३ दशमलव ९ प्रतिशत बिरामी निको भएका छन् । प्रसाईका अनुसार सुनसरीमा कोरोना सङ्क्रमित दर प्रति एक हजार जनसङ्ख्या बराबर ० दशमलव ४९ प्रतिशत रहेको छ ।

त्यसैगरी जिल्लामा रहेका सङ्क्रमित सङ्ख्याको आधारमा ० दशमलव ४६ प्रतिशत अर्थात् ३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाएका तीनै जना धरानका रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार सुनसरीमा पीसीआर परीक्षण गरिएकामध्येकोरोना पोजेटिभ देखिएको दर भने २ दशमलव ५७ प्रतिशत रहेको छ । प्रति एक हजारमा परीक्षणदर भने १९ जना रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा कुल जनसङ्ख्या ८ लाख ८८ हजार ७ सय ३० मध्ये अहिलेसम्म १६ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको रिपोर्टमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या धरानमा रहेको उल्लेख छ । जहाँ सङ्क्रमितको सङ्ख्या १ सय १४ छ । धरानमा ३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार इटहरीमा ३ हजार ५२ जनाको परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । वराहक्षेत्रमा ७ सय ५९ जनाको परीक्षण गरिएको छ । त्यहाँ १२ सङ्क्रमित रहेका छन् । इनरुवामा १५ सय ८ जनाको परीक्षण गर्दा १५ जना कोरोना पोजेटिभ पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी दुहबीमा १३ सय ६७ जनाको परीक्षण गर्दा ६० जनामा सङ्क्रमण देखिएको छ । रामधुनीमा ८ सय १४ जनाको परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । कोशी गाउँपालिकामा ९ सय १७ जनाको पीसीआर परीक्षण भएको छ । कोशीका २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै हरिनगरमा ७ सय १४ को परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ ।

यस्तै भोक्राहामा ४ सय ६१ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भोक्राहाका २० जनामा सङ्क्रमण पुष्टि भएको छ । देवानगञ्जमा ६ सय ३३ जनाको परीक्षण गर्दा १५ जना सङ्क्रमित भेटिएका छन् । गढीमा ५ सय १६ जनाको कोरोना परीक्षण गर्दा ११ जना र बर्जुमा ७ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा सङ्क्रमित सङ्ख्या बढ्दो क्रममा रहेको भए पनि निको हुने दर बढी रहेको जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार कोेरोनाको जोखिम बढेसँगै समुदायस्तरमा पीसीआर परीक्षणको दायरासमेत बढाइएको छ ।

प्रसाईले विश्वमै सङ्क्रमण र मृत्यु भन्दा निको हुने दर बढी रहेकाले समेत आत्मविश्वास दरो बनाई सावधानी अपनाउनसके कोरोनालाई सहजै परास्त गर्न सकिने बताए । उनले भौतिक दूरी र सावधानी भने निरन्तर जरुरी रहेको बताए ।

प्रसाईले स्वस्थ खानपिन र नियमित व्यायामसँगै चिन्तामुक्त रहन जिल्लावासीलाई आग्रह गरे । उनले अत्यावश्यकबाहेक हिँडडुल नगर्न जिल्लावासीमा आग्रहसमेत गरेका छन् । यसैबीच स्वास्थ्य कार्यालयले दिएको पछिल्लो जानकारीमा कार्यालयमा प्राप्त रिपोर्टअनुसार आइतबार साँझसम्म सुनसरीमा १ जना सङ्क्रमित थपिएका छन् । त्योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ४ सय ३४ पुगेको कार्यालयले जनाएको छ ।

निषेधित अवधि थपियो
सुनसरीमा निषेधित क्षेत्रको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएअनुसार भदौ १४ गते रातिसम्म निषेधित क्षेत्र कायम रहनेछ ।

सुनसरी प्रशासनले तेस्रो पटक आइतबार निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरेको हो । यसअघिको निर्णयको समयावधि आइतबार राति १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १४ सम्मलाई अवधि लम्ब्याउने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले सावधानी र सतर्कता अपनाउन निषेधित क्षेत्रको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

उक्त अवधिभर यस अघिबाटै निषेध गरिएका क्रियाकलापहरू स्वतः बन्द रहने भएकाले सोही अनुरूप गर्न र गराउन सुनसरी प्रशासनले आग्रह गरेको छ ।