इनरुवा । सुनसरीमा अहिले सम्मको कुल संक्रमित संख्या मध्ये झण्डै ४४ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार सुनसरीमा कोरोना संक्रमित हुनेको संख्या ४ सय ३३ रहेको छ ।
१६ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएका ४ सय ३३ जना मध्ये १ सय ९० जना कोरोनाका बिरामी निको भएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा रहेका संक्रमितकोे संख्याको अनुपातमा ४३ दशमलव ९ प्रतिशत बिरामी निको भएका छन् ।
सुनसरीमा कोरोना संक्रमित दर प्रति एक हजार जनसंख्या बराबर ० दशमलव ४९ प्रतिशत रहेको छ । सुनसरीमा संक्रमित संख्याको अनुपातमा ० दशमवल ४६ प्रतिशत अर्थात २ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
सुनसरीमा पीसीआर परीक्षण गरिएका मध्ये कोरोना पोजेटिभ भेटिने दर २ दशमलव ५७ प्रतिशत रहेको छ । प्रति एक हजारमा परीक्षण दर भने १९ जना रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा कुल जनसंख्या ८ लाख ८८ हजार ७ सय ३० मध्ये अहिले सम्म १६ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
सबैभन्दा बढी संक्रमितको संख्या भने धरानमा रहेको छ । जहाँ संक्रमितको संख्या १ सय १४ छ । धरानमा २ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इटहरीमा ७९ जनामा संक्रमण पुष्टि भएको छ । बराहक्षेत्रमा १२, इनरुवामा १५, दुहवीमा ६० जनामा संक्रमण देखिएको छ ।
रामधुनीमा संक्रमितको संख्या २५ पुगेको छ । कोशी गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै हरिनगरमा ३४ जना संक्रमित रहेका छन् । भोक्राहा नरसिंहमा २०, देवानगञ्जमा १५ जना, गढीमा ११ जना र बर्जुका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए ।