भण्टाबारी/ कोरोना भाइरस सङ्क्रमित व्यक्ति भारतबाट भित्रिन नदिन सीमा सिल गर्दै सतर्कता अपनाइए पनि भारतीयहरू ज्वरो नापेको भरमा नेपाल भित्रिरहेका छन् ।

भारतसँग खुला सीमा नाकाका कारण संवेदनशील मानिएको सुनसरीको भण्टाबारी नाका सिल भए पनि दैनिक २५ देखि ३० वटा अत्यावश्यक सामग्री बोकेर भारतीय गाडी आवत–जावत गर्दै आएका छन् । आवश्यक साधन स्रोत उपलब्ध नहुँदा चेकजाँच गरेर सङ्क्रमित पत्ता लगाउन सम्भव नदेखिए पनि भारतबाट आउने मालवाहक गाडीका चालक र सह–चालकहरूलाई ज्वरो नापेको आधारमा नेपाल भित्रिन दिने गरिएको छ ।

कोरोना सङ्क्रमण पत्ता लगाउने साधन स्रोत उपलब्ध नभएपछि ज्वरो नापेर भारतीय गाडी सञ्चालकहरू आउन दिने गरिएको सीमामा तैनाथ स्वास्थ्यकर्मी बताउँछन् । भण्टाबारीको तीनकुने नाकाबाट त्यसरी भारतबाट अत्यावश्यक सामग्री बोकेर आउने सवारी चालकबाट कोरोना भाइरस भित्रिन नदिन र तिनीहरूको स्वास्थ्य परीक्षण गर्न कोशी गाउँपालिकाले सीमामा स्वास्थ्यकर्मी खटाएको हो ।

ज्वरो नाप्ने स्वास्थ्यकर्मी नै सङ्क्रमित
भारतबाट अत्यावश्यक सामग्री लिएर आउने भारतीय चालकहरूको चेकजाँचमा खटिएका एकजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएको छ । कुनै लक्षण नदेखिए पनि कोरोना परीक्षण गराउँदा ती स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

भारतसँग खुला सीमा नाकाका कारण सुनसरीमा समेत कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने जोखिम बढेर गएको छ । भारतबाट सुनसरीको भण्टाबारी नाका हुँदै कोरोना सङ्क्रमित व्यक्ति भित्रिएमा पनि त्यस्ता व्यक्तिको उपकरण अभावले पहिचान गर्न मुस्किल छ । सरकारले भारतबाट कोरोना सङ्क्रमण फैलिनसक्ने आशङ्का गरे पनि त्यसलाई रोकथाम गर्न सीमावर्ती क्षेत्रहरूमा त्योअनुसारको तयारी पुगेको पाइँदैन ।

तराईका नेपाली रोजगारीका साथै अध्ययन गर्नका लागि भारत गएकोमा कोरोना त्रासले पछिल्लो समय लुकिछिपी फर्किने क्रममा रहेकाले सीमामा थप सावधानी अपनाउनुपर्ने जरुरी रहेको स्थानीय बताउँछन् । दुईजना स्वास्थ्यकर्मीको टोली र उपकरण अभावमा सीमामा सङ्क्रमित व्यक्ति पहिचान गर्न गाह्रो हुने बताउँदै उनीहरूले थप सावधानी अपनाउन आग्रह गरे ।

कोरोना भाइरस भित्रिन नदिन सीमावर्ती क्षेत्रमा निगरानी बढाइरहेको प्रचार गरिए पनि प्रचारअनुसार काम नभएको भण्टाबारीका स्थानीय सुनिल दासको भनाइ छ । जिल्लाका सीमा नाकाबाट अत्यावश्यक सामग्री बोकेर आउनेहरूको स्वास्थ्य परीक्षणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन उनको आग्रह छ ।