भोजपुर । भोजपुरमा तिन जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बाहिरी जिल्लाबाट सरुवा भई आएका उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको अरुण गाउपालिकाको जरायोटारमा रहेको होल्डिङ एरियामा राखिएका प्रहरीको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । रिपोर्ट पोजेटिभ आउनेमा सप्तरीका २० बर्षिय , मोरङका २६ बर्षिय र धनकुटाका २६ बर्षिय प्रहरी रहेका छन ।
उनिहरुलाई गत भदौ २ गते होल्डिङ एरियामा राखेर ३ गते स्वाव संकलन गरिएको थियो । पिसिआर परिक्षण गरिएका अन्य ६५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६८ जनाको पिसिआर परिक्षण गरिएकोमा ६५ जनाको रिपोर्ट नेगेटिभ आएको प्रजिअ पुरीले जानकारी दिए ।
भोजपुरमा गत बैशाख ११ गते हतुवागढी गाउँपालिकामा एक जना र जेठ २३ गते षडानन्द नगरपालिकामा पाच जनामा कोरोना पुष्टि भएको थियो । उनिहरु सबै जना निको भएर घर फर्किसकेका छन ।
जिल्लामा अहिले सम्म कोरोना संक्रमणको आशंकामा पाच सय ८८ जनाको पिसिआर परीक्षण र एक हजार चार सय ८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।