- भूमिराज पराजुली
दमक झापाको दमकस्थित भुटानी शरणार्थी शिविर क्षेत्रमा रहेको स्वास्थ्य परीक्षणका लागि प्रयोग भएको भवनमा कोरोना विशेष अस्पताल बनाइने भएको छ । दैनिकजसो कोरोनाका सङ्क्रमित बढ्न थालेपछि शिविरको भवनलाई व्यवस्थापन गर्ने तयारी भएको हो ।
दमक–२ स्थित भुटानी शरणार्थी शिविरमा कोरोना विशेष अस्पताल बनाउन शुरु गरिएको दमक नगरपालिकाले जनाएको छ । नगरकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले तत्कालका लागि सामान्य बेड र दैनिक चिकित्सकको निगरानी गराउने गरिको तयारी थालिएको बताइन् । दमकमा कोरोनाको जस्तो लक्षण देखिएका, बिरामी भएकाहरूलाई चिकित्सकहरूले टेलिफोनमार्फत् नै सेवा दिँदै आएका छन् । त्यसरी सेवा लिनेहरूमा कोरोनाको लक्षणसँग मिल्दाजुल्दा कुनै पनि लक्षण देखिएमा बिरामीको घरैमा पुगेर स्वाब सङ्कलन समेत गर्दै आएको छ । यसै क्रममा दमक–५ र ९ का २ जनाको कोरोना परीक्षणका क्रममा रिपोर्टसमेत पोजेटिभ देखिएको थियो । दुवै जनालाई अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पठाइएको छ । उनीहरूको अवस्थामा केही सुधार आउँदै गरेको दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले बताए ।
पछिल्लो समय कोरोना विशेष अस्पतालमा बेडको अभाव हुने गरेको भन्दै अस्पतालले सङ्क्रमित बिरामी लिन नमानेपछि नगरपालिकाले आफै आइसोलेसन अस्पतालको संरचना बनाउन शुरु गरेको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । पछिल्लो समय अस्पतालमा उपचाररत सङ्क्रमित बिरामीको मृत्यु समेत हुने गरेकोले थप जोखिम बढ्न थालेपछि दमकका सङ्क्रमितलाई दमकमै राख्ने गरिको व्यवस्था मिलाउन पनि आवश्यक देखिएको प्रमुख ओलीले बताए । कोरोना विशेष अस्पतालमा सबै सङ्क्रमितलाई एकै ठाउँ राखिने भएकोले अन्य रोगबाट प्रताडित भएकाहरूले सहजरूपमा उपचार नपाएका हुन् कि भन्ने महसुस गरेर पछि त्यसैको कारणले ज्यान जान सक्ने भन्दै दमकमा विभिन्न रोगका विशेषज्ञसहितको टोलीले चरणबद्ध उपचारमा सहयोग गर्ने बताएपछि बेग्लै कोभिड अस्पताल बनाउन शुरु गरिएको नगरपालिकाको भनाइ छ । दमकमा रहेका सबै निजी अस्पतालका चिकित्सक र अस्पताल सञ्चालकहरूसँगको छलफल र सहयोग गर्ने प्रतिबद्धतापछि नगरपालिकाले यो कदम चालेको बताइएको छ । यहाँ रहेका लाइफलाइन अस्पताल, निम्स नेशनल हस्पिटल, एड्भान्स हस्पिटल, आम्दा अस्पताल, दमक हस्पिटल एण्ड रिसर्च सेण्टर, दमक अस्पताल लगायतका अस्पतालका सञ्चालक, चिकित्सकको सामूहिक भेला र छलफलले दमकमा कोरोना विशेष अस्पताल सञ्चालन गर्न सहयोग गर्ने जनाएपछि बेग्लै अस्पताल बनाउने कामको शुरु भएको हो ।
अस्पतालका लागि आवश्यक पर्ने अन्य उपकरणका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जनाइएको छ । अहिले दमक अस्पतालमा एउटा भेण्टिलेटर पनि रहेको तर त्यो सञ्चालनमा नआई थन्किएर बसिरहेको छ । भेण्टिलेटर इन्स्टल गर्ने र सञ्चालन गर्ने प्राविधिक नभएका कारण सो भेण्टिलेटर कामविहीन भएर बसेको उप प्रमुख अधिकारीले बताइन् । इन्स्टल गर्ने प्राविधिक लकडाउनले गर्दा आउन नसकेका कारणले ढिलाइ भएको उनको भनाइ छ । दमक नगरपालिकाले बनाउँदै गरेको कोभिड बिषेश अस्पतालमा थप ४ वटा भेण्टिलेटरको पनि माग गरिएको र सो स्वीकृत भइसकेको पनि उनले जानकारी दिइन् । त्यसका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनका लागि केन्द्रीय र प्रदेश सरकारकासँग समन्वय भइरहेको अधिकारीले बताइन् ।
त्यसैगरी आम्दा अस्पतालको होष्टल पनि अहिले खाली रहेकोले त्यसलाई पनि नगरपालिकाले आवश्यक ठानेमा कोरोना विशेष अस्पतालका रूपमा प्रयोग गर्ने प्रस्ताव अस्पतालसँग राखेको उपप्रमुख अधिकारीले बताइन् । अस्पतालमा अहिले कुनै पनि पठन–पाठन नभएका कारणले गर्दा सो होष्टल खाली रहेकोले त्यसलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्ने योजना रहेको तर तत्काल निर्णय भइनसकेको अस्पताल स्रोतले जनाएको छ ।