नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी । यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन ।यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ । आवश्यकताभन्दा बढी खाएमा ज्यानसमेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो ।

साधारणतया खुर्सानी पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तŒवलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । अरू खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ । डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ ।

स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ । नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्ट्रिकको दबाइ भनेर नै चिनिन्छ । वैदिशक रोजगारी र अध्ययनका लागि विदेशिएका नेपालीले सबैभन्दा मिस गर्ने चिज नै डल्ले खुर्सानी हो भनिन्छ । त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरूले अकबरे मगाएका हुन्छन् ।

नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ । तेह्रथुमबाट २०७५ सालमा ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतका विभिन्न स्थानमा निर्यात गरिने यो खुर्सानी बहुप्रयोजनका लागि हुनाले बजार सहज पाइन्छ ।

प्रतिकेजी ३ सयदेखि ४ सय ५० सम्ममा बिक्री हुने हुँदा किसानहरू पनि यो नगदे बालीमा आकर्षित भएका छन् । खुर्सानीको वैज्ञानिक नाम ‘क्याप्सिकम फ्रुटेसेन्स’ हो भने यसलाई अङ्ग्रेजीमा ‘रेड सभिना पेपर हवानो पेपर’ भनेर चिनिन्छ ।

प्रायः भेडे खुर्सानीबाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो । तर लामो खालको खुर्सानी पनि खासै पिरो हुँदैन । खुर्सानी खानु केही पेटका बिरामीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन् ।

सामान्यतया नेपाली भन्सामा खुर्सानीको व्यापक प्रयोग हुन्छ । खुर्सानीका जात पनि दर्जनौं हुन्छन् । नेपालमा अहिले डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीँ यही खुर्सानी देख्न सकिन्छ । यो खुर्सानी काँचो (हरियो), पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खान सकिन्छ । त्यस्तै स्पाइसी ड्रिङ्क भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ ।

अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन ।

नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अष्ट्रेलिया र मलेसिया लगायतका देशहरूमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा
– खाना पचाउने काममा विशेष सहयोग पुर्याएको हुन्छ ।

– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।

– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।

– कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पु¥याउँछ ।

– हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।

– कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ ।

– डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।

– शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पु¥याउँछ ।

– रगतमा चिनीको मात्रा घटाउन मद्दत पु‍¥याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।

– ग्यास्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ ।

– पिसाबसम्बन्धी समस्या कम गराउन सहयोग पु¥याउँछ ।

– अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।

– थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ, तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिँधेर कुनै पनि चिजसँग खान सकिन्छ ।

– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ, जसका कारण पेटसम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पु¥याउँछ ।

– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।
साभारः स्वास्थ्यखबर