भद्रपुर । कोरोना भाइरसको उपचारको विषयलाई लिएर मेची अञ्चल अस्पतालमा भद्रपुरमा राजनीति शुरु भएको छ । प्रत्यक्ष जनस्वास्थ्य उपचार सेवामा प्रभाव पर्न थालेको भन्दै अस्पताल भित्र राखिएको कोभिड १९ उपचार केन्द्र अन्यत्रै सार्न नेपाली काँङ्ग्रेस झापासहित क्षेत्र नम्बर ३ ले निरन्तर खबरदारी गरिरहेको छ ।
अस्पताल सञ्चालक समिति र नेकपा लगायतका राजनीतिक दलले साउन १९ गतेबाट अस्पतालको एउटै भवनमा सङ्क्रमित र अन्यको उपचारको अनुमति दिइ सेवा शुरु भइसकेको छ ।
गत बैशाखमा जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसीआर परीक्षण गर्ने प्रयोगशाला बनाउने निर्णय गरेको थियो । तर, सो ठाउँमा भविष्यमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयबासीले अस्पताल परिसरमा प्रयोगशाला र कारोना उपचार बनाउन जोखिम हुने भएधकोले आपत्ति जनाउँदै सरकारी निर्णय बिरुद्ध आन्दोलन समेत गरेका थिए ।
सीमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनर्रस्थापन केन्द्र, जिल्ला बालकल्याण संरक्षण केन्द्र, एच आइ भी उपचार तथा पुनर्रस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र जस्ता सम्वेदनशील क्षेत्र ५० मिटर दुरी भित्रै पर्दछन् । यस्तो अवस्थामा अन्य रोगका विरामी उपचार सेवा लिन अस्पताल कसरी आउन सक्छन् ? भन्ने प्रश्न स्थानीय सरोकारवालाले जोडदार उठाएका भए पनि अस्पताल सिफारिस समितिले समेत सिफारिस गरेभन्दा बाहिर गएर प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताल भवन भित्रै कोरोना उपचार केन्द्र निर्माण गर्न निर्देशन दिए पश्चात अन्य रोगी र कोभिड १९ सङ्क्रमित एउटै भवनमा उपचार गर्नु पर्ने बाध्यता रहेको छ ।
स्थानीयले मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल बनाउँदा भविष्यमा अन्य सेवा लिनबाट सर्वसाधारण बन्चित हुने अवस्था बन्ने तथा आसपासका स्थानीयमा सङ्क्रमणको त्रास हुने भन्दै आपत्ति प्रकट गरेर विरोधमा उत्रेका थिए । गम्भीर विषय रहेको कोरोना उपचार अस्पताल निर्माण कार्यका बारेमा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा र सिमाना जोडिएको वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीले समेत सरोकारवालासँग छलफल नगरी निर्णय भएकोमा आपत्ति प्रकट गरेका छन् । स्थानीयले कलवलगुडी प्रशिक्षण केन्द्र वा अन्य सुरक्षित स्थानमा अस्पताल बनाउनु पर्ने धारणा सार्वजनिक गरेका थिए तर, सरकारी पक्षले नागरिकका आवाज सुनुवाइ गरेको छैन । नेकपाबाट निर्वाचित झापाका प्रदेश तथा केन्द्रका साँसदले प्रदेश सरकारलाई अनुरोध गरेर पीसीआर मेसिन साउन महिनामा मेची अञ्चल अस्पतालमा ल्याएका थिए ।
स्थिती झन भयावह हुदै गएपछि नेपाली काँङ्ग्रेस क्षेत्र नम्बर ३ झापाले हटाउन माग राखेर प्रधानमन्त्री तथा प्रदेश १ कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।
झापाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको मेची अस्पताल भित्र कोरोना उपचार केन्द्र राखिएपछि रोग सर्ने त्रासले सर्वसाधारण आउन नसकेपछि उपचारसेवा प्रभावित भएको भन्दै काँङ्ग्रेसले कोभिड १९ को उपचारका लागि अन्यत्र व्यवस्थापन गर्न माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई झापाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएको छ ।
क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा सोमबार गएको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।
विभिन्न रोग लागेर आइपुग्ने विपन्न वर्गको उपचार गर्ने एक मात्र सरकारी अस्पताल भित्र कोरोना उपचार केन्द्र समेत राखिएपछि हजारौं नागरिक कोरोना सङ्क्रमण त्रासका कारण सेवा लिन आउन सकेका छैनन् । एउटै भवन, एउटै प्रवेशद्वार, पुरानो तथा साँघुरो उपचार कक्ष भएको अस्पताल परिसरमा कोभिड १९ रोगी समेत राखेर उपचार गरिँदा समुदायमा कोरोना फैलन गइ भयावह हुने हुँदा व्यवस्थित उपचार केन्द्र निर्माण गरी अन्यत्रै स्थान्तरण गरेर सर्वसाधारणले अञ्चल अस्पतालमा उपचारका लागि निरढुक्क भइ उपचार लिन आउन सक्ने वातावरण निर्माण गरिदिन माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।