विराटनगर /  विराटनगर १७ मा चार वर्षको एक जना बालकलाई पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । बालकलाई कोरोना संक्रमण पुष्टि भए पनि ती बालकका आमाको रिपोट नेगेटिभ भएको विराटनगरका १७ का वडाअध्यक्ष समिक कमरले जानकारी दिए ।

संक्रमित बालकका बुवा विराटनगर ९ गुद्रीमा सब्जी व्यापार गर्दछन् । केही दिन अगाडी बावुमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारको कन्ट्रयाक टे«सिङ्गको आधारमा परिवारको स्वाब संकलन गरिएको वडाअध्यक्ष कमरले बताए । ‘मंगलबार आएको रिपोट अनुसार बालकलाई कोरोना संक्रमण देखियो । आमालाई छैन,’ उनले भने ।

विराटनगर १७ मा मंगलबार आएको रिर्पोट अनुसार ४ पुरूष र ४ महिला गरि ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ जना एकै घरका परिवार रहेको वडाअध्यक्ष कमरले बताए । एकै घरका संक्रमित रहेका मध्ये एक जना सवारी चालक हुन् । केही दिन अगाडी ती चालक संक्रमित भएपछि परिवारको अन्य सदस्यको स्वाब संकलन गरिएको थियो ।