ब्लाष्टखबर । धरानमा काेराेना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड अभावका कारण असुरक्षित रूपमा घरमै बस्नु समस्या आउन थालेपछि काेराेना संक्रमितहरू राख्नकालागी धरान १९ स्थित हरियाली सामुदायिक वनकाे आवास गृहलाइ आइसाेलेसन बनाइने भएकाे छ ।

धरानकाे एक मात्र आइसोलेसन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसन बेडको अभाव भएपछि उपमहानगरपालिकाले हरियाली सामुदायिक वन समुहको आवास गृहमा २३ वेड क्षमताकाे आइसोलेसन तयार गर्ने भएकाे नगरप्रमुख तिलक राईले  बताएका छन् । 

राईका अनुसार संक्रमित पुष्टि भएपनि लक्षण नभएकाहरुलाई मात्र त्यहाँ राखिने छ । आवास गृहकाे उक्त आइसाेलेसनकाे सुरक्षाका लागी सिसि क्यामेरा जडान, घेराबारा गरिनुका साथै वाइफाई, मनोवैज्ञानिक चिकित्सक र राम्रो खानपिनको व्यावस्था समेत गरिने छ । 

वीपी प्रतिष्ठानका विज्ञ चिकित्सक र नेपाली सेनासहितको टोलीकाे निरीक्षण पछि आवास गृहलाई आइसोलेसन केन्द्र बनाउन छनौट गरेकाे उक्त क्षेत्रकाे सुरक्षा तथा व्यवस्थापनको जिम्मा नेपाली सेनाको हुने  नगरप्रमुख  राईले  बताएका छन् ।