विराटनगर । दुई जना पत्रकारसहित विराटनगरमा २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार रातीको रिपोट अनुसार १३ जना महिला र १० जना पुरूषमा संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पतालको ल्याबमा पिसिआर प्रविधिबाट गराएको रिपोट अनुसार विराटनगरका वरिष्ठ पत्रकार मोहन भण्डारीलाई संक्रमण पुष्टि भएको छ ।

पत्रकार भण्डारीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत संक्रमण देखिएको जानकारी गराएका छन् । यस्तै अर्का एक जना पत्रकारमा पनि संक्रमण पुष्टि भएको छ । विराटनगरमा संक्रमित पत्रकारको संख्या ६ पुगेको छ । 

सोमबार रातीको रिपोट अनुसार सबैभन्दा बढी विराटनगर १७ मा संक्रमण देखिएको छ । विराटनगर १७ मा ५ महिला र २ जना पुरूष गरि ७ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै विराटनगर ८ मा ३ जना, ६ मा ३ जना, ९ मा २ जना, ५ मा ४ जना, ३ र १५ मा १– १ जनामा संक्रमण देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बाँकी रहेका वडा नखुलेको संक्रमित देखिएका छन् । हालसम्म महानगरमा तीन सय १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा दुई सय छ पुरुष र एक सय सात महिला छन् । विराटनगरमा चार जनाको मृत्यु भएको छ ।