पथरीशनिश्चरे / भारतबाट कामदारका रुपमा आइ मोरङको पथरी शनिश्चरेस्थित क्वारेन्टिनमा बसाइएका एकजनामा कोरोना भाइरस देखापरेको छ ।

नगरको क्वारेन्टिनमा बसेकामध्ये भारतबाट आएका एकजना २६ वर्षीय पुरुषमा कोरोना देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए । उनको अवस्था भनें सामान्य रहेको छ । गत शुक्रबार ६७ जनाको कोरोना पीसीआर परीक्षणका लागि प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगरमा स्वाब पठाइएका ेमध्ये उनमा संक्रमण देखा परेको हो ।
वडा नम्बर ८ स्थित यादबहादुर वस्नेतको निर्माधिन मिलमा मेसिनरी सामग्री जडान गर्न भारतको पञ्जाबबाट ५ जना कामदार आएका थिए । सो जानकारी पाएर नगरले उनीहरु सवैलाई पथरी बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा राखेको थियो । जसमध्ये १ जनामा कोरोना देखिएको छ ।

भारतबाट आउनेहरुलाई सिमा क्षेत्रमा रोक्न सम्वन्धित पालिकाहरुले विशेष निगरानी गर्नुपर्ने स्थानीयको माग छ । नगरपालिकाले विशेषगरी दक्षिणी सिमाको वडा नम्वर ५ र ६ मा प्रहरी र प्रहरीको साथी म मार्फत प्रवेशमा रोक लगाउन निर्देशन गरेको भएपनि रातीको समयमा लुकिछिपी मानिसहरु प्रवेश भएको स्थानीय बताउँछन् ।

यसैबीच, कन्ट्रयाक ट्रेसिङका आधारमा हिजो पथरी शनिश्चरे नगरका जनप्रतिनिधि, पत्रकार, सामुदायिक वनका पदाधिकारी तथा समाजसेवीहरु ७५ जना तथा क्वारेन्टिनमा बसेका २० जना गरी ९५ जनाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगर पठाइएको छ ।

यसअघि नगरमा ५ जनामा कोरोना देखापरेपनि सवैजना निको भएर घर फर्किसकेका छन् ।सवैतिर कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेपछि नगरमा साउन २३ देखि ३२ गतेसम्म पुनः लकडाउन गरिएको छ ।