धरान/ समुदायमा कोरोना फैलिएसँगै मृत्युदर बढ्दो रहेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गण्डकी प्रदेश अन्तर्गत कास्की पोखरा महानगरपालिका–१९ का एक पुरुष र पर्सा वीरगञ्ज महानगरपालिका–२ की एक महिलाको मृत्यु भएको हो । पोखराका ६२ वर्षीय पुरुषको शनिबार राति निधन भएको हो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै वीरगञ्जकी २० वर्षीया महिलाको ज्यान गएको छ ।

उनको नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो । उनको पनि शनिबार नै निधन भएको थियो । मृत्युपश्चात् मात्रै उनको परीक्षण गर्दा उनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । शनिबार तीन जनाको मृत्यु भएको थियो । त्यस्तै बिहीबार र शुक्रबार पाँच–पाँच जनाको ज्यान गएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

आइतबार दिइएको जानकारी अनुसार ३ सय ८० जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा २२ हजार ९ सय ७२ जना सङ्क्रमित पुगेका छन् । जसमध्ये १६ हजार ३ सय ५३ कोरोना भाइरसमुक्त बनेर फर्किएका छन् । सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय १९ जना रहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआरका लागि नमूना सङ्कलन गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ४० जना कोरोनामुक्त बनेर फर्किएका छन् । प्रदेश १ मा ४० जना सङ्क्रमित थपिएका छन् । विराटनगर महानगरपालिकाभित्र मात्रै २९ जना कोरोना सङ्क्रमित थपिएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार १३ महिलासहित ४० जना सङ्क्रमित बनेका छन् । त्यस्तै झापामा ४ पुरुष र १ महिला, सुनसरीमा ४ पुरुष र २ महिलासहित ६ जनामा सङ्क्रमण देखिएको हो । धरानमा दुई पुरुष १ महिला, इटहरीमा दुई पुरुष र बर्जु गाउँपालिकामा १ पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।