धरान/ सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक द्वन्द्वले पार्टी नेता कार्यकर्तासँगै आमजनतामा चरम निराशा छाउन थालेको छ । यही स्थिति रहिरहे कालान्तरमा पश्चिम बङ्गालमा कम्युनिष्ट इतिहास मेटिए झैं अवस्था आउन सक्ने राजनीतिक चिन्तकहरूले सङ्केत गरेका छन् ।
नेकपामा असार १४ गतेयता शीर्षस्थ नेताहरूबीच द्वन्द्व चुलिँदै गएको हो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुरु भएको द्वन्द्वमा अन्य शीर्षस्थ नेताहरू जोडिँदै आएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र चलिरहेको बहस विधि र पद्दतिका लागि भएको जोड दिँदै आएका छन् । तर, केपी ओली पक्षधरले प्रचण्ड पदका लागि ‘बार्गेनिङ’ गरिरहेको तर्क गर्दै आइरहेका छन् । पार्टीभित्रको आन्तरिक कलहले अन्ततः पार्टीलाई गम्भीर नोक्सानी हुने प्रा.डा. भीम खतिवडा बताउँछन् । उनी भन्छन्, ‘नेकपामा अनिष्ट आउँदै छ । विसङ्गतिपूर्ण अवस्था निम्त्याउँदै छ । यो राम्रो सङ्केत होइन । पार्टीका लागि कार्यकर्ताका लागि निराशा हुँदै हो, जनतामा झन् निराशा आउँदै छ ।’
असार १४ गते पहिलोपल्ट नेकपाभित्र द्वन्द्वको बीजारोपण भएको थियो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रमबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र नेकपाभित्रैका नेताहरूमा लागेको अभिव्यक्ति दिएपछि नेकपाको विवाद सघन बनेको थियो । उक्त अभिव्यक्ति पुष्टि गर्न प्रचण्ड–माधव नेपाल पक्षधरले दबाव दिएका थिए । त्यसयता पार्टीको स्थायी कमिटीको बैठक पटक–पटक बस्दै आए पनि निचोडमा पुग्न सकेको छैन ।
आगामी चैतभित्र गर्ने भनिएको महाधिवेशनलाई अध्यक्ष ओलीले मङ्सिरमै गर्ने आश्वासन दिएका थिए । तर यसलाई प्रचण्ड–नेपाल समूहले ओलीको ‘महाधिवेशन कार्ड’ का रूपमा मात्रै बुझेका छन् । नेकपाका प्रदेश १ कमिटी सदस्य एवम् धरान नगर इञ्चार्ज अइन्द्रविक्रम बेघाले भने, ‘पार्टी विधि र पद्दतिमा हिँड्नु पथ्र्यो, त्यो देखिएन । मूल टाउकेमै समस्या देखियो, त्यसले तल्लो कमिटीसम्म असर पारेको छ ।’
कम्युनिष्ट सरकारलाई दुईतिहाइ बहुमत दिएका जनता यतिबेला चरम निराशाबाट गुज्रिरहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयको राजनीति विभागका डा. अमृत श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पार्टी पङ्क्ति, कार्यकर्तामा त निराशा आउने नै भयो, अझ झन् आममतदातामा निराशा छाउँदै छ ।’ उनका अनुसार आमजनतामा निराशा भइरहेमा पश्चिम बङ्गालमा कम्युनिष्ट सरकार जसरी पतन भयो त्यो स्थिति आउन सक्छ ।
‘जनताले एकपल्ट अवसर दिन्छ’ उनी भन्छन्, ‘जुन द्वन्द्व देखिएको छ, यसले कम्युनिष्टको भविष्य उज्वल देखिँदैन ।’ भारतको पश्चिम बङ्गालबाटै कम्युनिष्ट विचारधाराको सूत्रपात भए पनि सन् २०१९ को चुनावमा पत्तासाफ भएको छ । जहाँ सन् १९७७ देखि २०१२ सम्म कम्युनिष्ट पार्टीले एकछत्र राज गरेको थियो । सन् २०१४ को चुनावमा पहिलो पल्ट भारतीय जनता पार्टी (भाजपा) ले दुई सिट जित्दै आफ्नो उपस्थिति जनाएको थियो ।
कम्युनिष्ट व्यक्ति होइन, विधि तथा पद्दतिको शासन मान्ने सङ्गठन हो । तर, अहिले व्यक्ति हाबी हुँदै गएको नेकपाका नेता कार्यकर्ताको बुझाइ छ । प्रदेश १ कमिटी सदस्य बेघा थप्छन्, ‘कम्युनिष्टको चरित्र व्यक्तिप्रधान होइन, यहाँ विधि र पद्दति नै माथि हुन्छ ।’ नेकपाका नगर अध्यक्ष नारायण सुवेदी पनि अहिले शीर्षस्थ नेतामा देखिएको आन्तरिक विवादले समग्र मुलुकको लागि नै दुर्भाग्यपूर्ण बनेको बताउँछन् ।
‘जुन विवादास्पद कुराहरू आइरहेका छन्, यो समग्र मुलुककै लागि दुर्भाग्य हो । कोभिड–१९ को बेला विपक्षीहरूलाई पनि एकजुट गरेर जानु पर्ने अवस्था हो ।’ उनले यसले पार्टीलाई दीर्घकालीन असर गर्ने भएकाले दुवै पक्षले आत्मसमीक्षा गरेर एकताबद्ध हुनुको बिकल्प नभएको बताए ।
अहिले शीर्षस्थ नेताहरू एक–अर्काप्रति हिलो छ्यापाछ्याप गरिरहेका छन् । जनताको मतलाई सम्मान गर्दै कोभिड–१९ को महामारीलाई अन्त्य गर्न पहल थालिनुपर्ने भए पनि आफ्नै लडाइँमा व्यस्त देख्दा नेता कार्यकर्ता विरक्तिँदै गएका छन् । ‘तुच्छ आलोचना गर्ने प्रवृत्तिले अन्ततः पार्टीलाई नै बेफाइदा पुग्छ’ प्रा.डा. खतिवडाको तर्क छ,(‘अनुशासनहिनता बढेको छ ।
हाम्रा नेता नेपाली जनताको नेता हुन सकेका छैनन् । पार्टीमा अतिवाद हाबी भएको छ । एउटाले ठीक भन्दा अर्कोले गलत देखाउने प्रवृत्ति मौलाएको छ ।’ अझै पनि स्थायी कमिटीको बैठक अवरुद्ध हुँदै आएको छ ।