धरान (ब्लाष्ट) वरिष्ठ गायक दीप श्रेष्ठको सङ्गीत, गायक एपी शेर्पाको स्वर र गीतकार टेक तामाङको शब्दमा नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’ सार्वजनिक भएको छ ।

गीतको भिडियो शनिबार गायक शेर्पाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा शेर्पा आफैले अभिनय गरेका छन् । भिडियोमा वरिष्ठ गायक दीप श्रेष्ठलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका हुन् । सम्पादन सूर्य लामाको र कोरियोग्राफी भुपेन्द्र तुम्बाहाङ्फेले गरेका छन् ।

कोरोना भाइरसको महामारीले देश लकडाउन भएका बेला गृहनगर धरानमै रहेका वरिष्ठ गायक दीप श्रेष्ठले सङ्गीत भरेको यो गीतको रेकर्डदेखि भिडियो निर्माणसम्म लकडाउनकै बेला भएको हो ।

देश लकडाउनमै रहेका बेला भारतले नेपालको सीमा मिचेको विषय बहसमा आयो । त्यसपछि नेपालले नयाँ नक्सासमेत सार्वजनिक गर्यो । देशको सीमा मिचिएको यही समयमा देशभक्ति गीत तयार भएको गायक शेर्पा बताउँछन् । यसअघि पनि उनको ‘गरौं सङ्कल्प’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको थियो ।